सिन्सियरको ठगीधन्दाः मीटरब्याजमा कर्जा लगानी,ऋणीलाई दुःख दिने

सिन्सियरको ठगीधन्दाः मीटरब्याजमा कर्जा लगानी,ऋणीलाई दुःख दिने

राजधानीको पुतलीसडकस्थित सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभको ठगीधन्दा मौलाएको आरोप छ । २२ वर्षअघि सञ्चालनमा आएको सिन्सियरले मीटरब्याजमा पैसा लगानी गरेर ठगी गर्दै आएको बताइन्छ । राजेन्द्रभक्त श्रेष्ठ अध्यक्ष रहेको यो संस्थाको हर्ताकर्ता राजेश खड्का हुन् । 

सहकारी ऐनले १६ प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा लगानी गर्न नपाउने प्रावधान बनाएको छ । तर, सिन्सियरले ३६ प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गरेको स्रोत बताउँछ । कर्जा दिने बेला फिर्ता गर्ने निश्चित समय तोकिएको भएपनि सिन्सियरले त्यसअघि नै ऋणीलाई दुःख दिने गरेको छ । समयावधि सकिनुअगावै बारम्बार फोन गरेर धम्काउने गरेको बताइन्छ ।

सहकारी संस्थाले कर्जा लिने बेलामा मात्रै सेवाशुल्क लिन पाउँछ त्यो पनि सरकारले तोकेबमोजिम । तर, सिन्सियरले कर्जा दिने र चुक्ता गर्ने बेलामा ऋणीसंग सेवाशुल्क लिने गरेको स्रोतको भनाइ छ । सिन्सियरका कारण धेरैको उठिबास लागेको छ । धेरैको शीरबाट छत गुमेको छ । यता, सिन्सियरको सबैभन्दा धेरै कर्जा लगानी थोत्रा ट्याक्सीमा रहेको बताइन्छ ।

जनआस्थाको सम्पर्कमा आएका एक पीडितले भने,‘पहिले कर्जा दिने बेलामा अन्य सहकारीअनुसार नै दिन्छ । एक वर्षका लागि भनेर ऋण लिएको हुन्छ तर तीन महिना नबित्दै फोन गरेर कर्जा चुक्ता गर्न तनाव दिइरहन्छ । त्यसपछि पनि ऋण चुक्ता गरेन भने पत्रिकामा सूचना ननिकालिकन धितो लिलाम गरिन्छ । जबकि धितो लिलाम गर्नलाई पहिले पत्रिकामा लिलाम सूची निकाल्नुपर्छ । स्थानीयको रोहबरमा धितो लिलाम गर्नुपर्छ । तर, त्यस्तो केही पनि गर्दैन ।’

सिन्सियरमा तीन जनाको राज चलेको छ । अध्यक्ष श्रेष्ठ,कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा विभागकी अधिकृत मीरा कर्माचार्य । यिनीहरुको मनपरिमा सयौंको बिचल्ली भएको छ । कर्जा लिने अधिकांशलाई सिन्सियरले तहसनहस पारेको छ । 

सिन्सियरले गुण्डासमेत पालेको छ । आफ्नो कालो कर्तुत बाहिर आउन नदिन सिन्सियरले धम्काउने,तर्साउने र परेको खण्डमा गुण्डा लगाएर पिट्नेसमेत गरेको बताइन्छ । जसका कारण सिन्सियरको गैरकानुनी धन्दा अहिलेसम्म बाहिर नआएको हो । आफूविरुद्ध बोल्नेको मुखमा बुझो लगाउन सिन्सियरका अध्यक्ष श्रेष्ठ र कार्यकारी सञ्चालक खड्का माहिर छन् । यता,पछिल्लो समय सिन्सियर पनि संकटग्रस्त अवस्थामा पुगिसकेको छ । संस्थाले केही समयदेखि तरलताको अभाव झेल्दै आएको स्रोतले बताएको छ । 

यता,कार्यकारी सञ्चालक खड्काले भने यो कुरालाई नकारेका छन् । उनले आफूहरु सहकारी ऐनविपरीत गएर कुनै पनि काम नगर्ने दाबी गरेका छन् । उनकाअनुसार संस्था चलिरहेको अवस्थामा नभई दौडिरहेको छ । 

‘हाम्रो संस्था चलिरहेको होइन,दौडिरहेको अवस्थामा छ । 'उनले भने,‘धितो लिलाम गर्दा हामीले पत्रपत्रिकामा निकाल्ने गरेका छौं ।’ सञ्चालक खड्काले सबैभन्दा धेरै लगानी ट्याक्सीमा रहेको स्वीकारेका छन् । 

मार्जिनभन्दा बढी ब्याजमा लगाएको भए कारबाही हुन्छः सहकारी विभाग 

सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले मार्जिनभन्दा बढी ब्याजदरमा कर्जा लगानी गरेमा कारबाही हुने बताएका छन् । १६ प्रतिशतभन्दा बढी ब्याजमा कर्जा लगानी गर्न नमिल्ने जानकारी दिँदै उनले यसविषयमा अध्ययन गर्ने जनाएका हुन् ।

‘सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा लगानी गर्न मिल्दैन् । गरेको पाइएमा विभागले कडा कारबाही गर्छ’, उनले भने,‘सहकारीले जथाभावी लगानी गर्दा यस्तो समस्या देखियो ।’ साथै, उनले सहकारीमाथि नियमन गर्ने काम भइरहेको दाबी गरेका छन् । 

गाडीमा लगानी गरेको अहिलेसम्म थाहा छैन्ः सहकारी महासंघ

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी सुब्बाले सहकारीले गाडीमा लगानी गर्ने विषयबारे आफू अन्जान रहेको बताइन् । उनले भनिन्,‘मैले घरजग्गामा लगानी गरेको त सुनेको थिए तर गाडीमा चाँहि पहिलोपटक सुन्दै छु ।’ 

साथै, सहकारीले बचतकर्ताको रकम घरजग्गामा समेत लगानी गर्न नहुने उनको धारणा छ । तोकिएको सीमाभन्दा बढीमा कर्जा लगानी गर्न नपाउने बताउँदै उनले त्यस्तो गैरकानुनी कार्य गर्ने संस्थालाई नियमक निकायले कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । एकाधका कारण सिंगो सहकारी क्षेत्र नै बद्नाम भएको उनको ठहर छ । 

त्यस्तै, अनिवार्य पत्रपत्रिकामा निकालेर, सूचना टाँस गरेर र स्थानीय तहको रोहबरमा मात्रै धितो लिलाम गर्न पाइने उनले जानकारी गराइन् । नियमअनुसार नचल्ने सहकारीलाई कडा कारबाही गर्नुपर्ने महाप्रबन्धक सुब्बा बताउँछिन् ।
 

टिप्पणीहरू