नेपालमा आज कति छन् त नागरिक ?

नेपालमा आज कति छन् त नागरिक ?

नेपालको वर्तमान जनसंख्या कति हो ? न तथ्यांक विभागले सार्वजनिक गरेको छ, बरु सार्वजनिक गरिहाल्छ कि भनेर रोकाउने काम मात्रै भइरहेको छ । राष्ट्रपतिको चुनाव हुन अझै एक महिनाभन्दा बढी बाँकी छ ।

भनिन्छ, त्यही चुनावलाई दृष्टिगत गरेर सरकारले जनसंख्या सार्वजनिक गर्न नदिएको हो । प्रत्येक १० वर्षमा जनगणना हुने भए पनि प्रत्येक पाँच–पाँच वर्षमा त्यसलाई अद्यावधिक गर्ने गरिन्छ । यसरी देशको जनसंख्या र राष्ट्रपति निर्वाचनबीच सम्बन्धको फरक पाटो छ । निर्वाचनका क्रममा सांसदहरूको मतभार तय गर्ने काम जनसंख्याका आधारमा हुन्छ । अहिले २०७४ कै निर्वाचनको जनसंख्यालाई मान्ने हो भने ३ सय ३४ जना संघीय सांसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को मतभार ७९ हुन्छ भने प्रदेशसभाका सांसदहरूको ४८ हुन्छ ।

जनसंख्या बढ्दा प्रदेशसभाका सांसदहरूको समेत बढ्ने र प्रतिनिधिसभाका सांसदहरूको यथावत रहने भयो भने निर्वाचनको सन्तुलनमा समस्या आउँछ । हार–जित प्रभावित हुन्छन् । कांग्रेसको ८९, जसपाको १२, समाजवादीको १०, नागरिक उन्मुक्तिको ४ र तमलोपाको ४ गरी ११९ सीट त सत्ता बाहिर छ । यसर्थ, अहिले त्यो कष्ट नउठाइएको हो । फागुन २८ मा राष्ट्रपतिको पदावधी सकिन्छ । त्योभन्दा अगाडि नै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न बाँकी छ ।

विद्यमान जनसंख्याअनुसारको मतभारमा नेपाली कांग्रेससँग ३१ र एमालेसँग २९ प्रतिशत छ । माओवादी केन्द्र १५ प्रतिशतमा हुँदा रास्वपाले ३, राप्रपा र एकीकृत समाजवादीले ५–५ प्रतिशत मतभार ओगट्छन् । कांग्रेससँग प्रतिनिधिसभामा ८९, राष्ट्रियसभामा १० र प्रदेशमा १ सय ७५ सांसद छन् । यसर्थ उसको कूल मतभार १६ हजार २ सय २१ हो । एमालेसँग प्रतिनिधिसभामा ७८, राष्ट्रियसभामा १७ र प्रदेशसभामा १ सय ६१ सांसद भएका कारण उसको मतभार १५ हजार २ सय ३३ छ ।

माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२, राष्ट्रियसभामा १६, प्रदेशमा ८२ सांसद हुँदा कूल मतभार ७ हजार ७ सय २८ कायम हुन्छ । रास्वपासँग प्रतिनिधिसभामा मात्रै २० सांसद छन्, यसर्थ ऊ १५ सय ८० मतभारसहित उपस्थित छ । राप्रपासँग प्रतिनिधिसभामा १४ र प्रदेशमा २८ सांसद हुँदा उसको मतभार २४ सय ५० हो । एकीकृत समाजवादीका प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ८ र प्रदेशमा २४ सांसद छन् । यसर्थ उसको मतभार २५ सय ७४ हो । त्यस्तै, जसपाको २१ सय ४५, लोसपाको ९ सय ७१, जनमतको १२ सय ४२, नागरिक उन्मुक्तिको ८ सय १३ , जनमोर्चाको २ सय ६, नेमकिपाको २ सय २३ र स्वतन्त्रहरूको १२ सय ८ मतभार छ ।

तीबाहेक प्रदेशसभामा एकमात्र सांसद रहेको डा.बाबुराम भट्टराईवाला नेपाल संघीय समाजवादी पाटीसँग ४८, दुई प्रदेशसभा सदस्य रहेको हाम्रो नेपाली पार्टीसँग ९६ मतभार छ ।

 

टिप्पणीहरू