डलर विदेश लान पाँच तारे होटलमा तयारी,राष्ट्र बैंकको सूचना जेसुकै होस्

डलर विदेश लान पाँच तारे होटलमा तयारी,राष्ट्र बैंकको सूचना जेसुकै होस्

नेपाल राष्ट्र बैंकले नेपाल बसेर विदेशमा लगानी गर्न नपाइने प्रचलित कानुनबारे गत साता नेपालका डलर अर्बपतिदेखि नेपाली अर्बपतिहरूलाई दिएको सूचनालाई अपमान गरिएको छ । उक्त सूचनाको बर्खिलाप हुनेगरी आज सोल्टी होटलमा युनाइटेड अरब इमिरेट्सको दुबईमा डलर पुर्याउने र त्यहाँको घर जग्गा किन्नेसम्बन्धमा दुई दर्जन व्यवसायीले कडा सुरक्षाबीच कार्यक्रम गरेका छन् ।

बिचौलिया दिपक भट्टको शंकास्पद कारोबारबारे अघिल्लो साता खबर बाहिरिएलगत्तै प्रकाशित बैंकको उक्त सूचनाले विदेश गएर छोराछोरीको विवाहमा करोडौं खर्चने,हुण्डी कारोबारबाट डलर विदेशमै राख्ने र बाहिर कमाएको रकममध्ये सुको यता नल्याउनेलाई झस्काएको बताइएको थियो । तर,आज तिनैमध्येका केहीले खुल्लमखुल्ला सोल्टीमा विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १० (क) अन्तर्गत विदेशमा लगानी गर्न प्रतिबन्धित व्यवस्थाको प्रतिकूल हुने कार्यक्रम गरेका हुन् ।

मारवाडी समुदायका व्यवसायीहरू र पछिल्लो पटक दीपक भट्टसमेत विदेशतिर घरजग्गामा लगानी गर्ने योजनामा हिँडेको सूचना पाएपछि केन्द्रीय बैंकले पहिलो चरणमा जनाउ दिने उध्देश्यसहित गत साता सूचना प्रकाशित गरेको थियो । हिजो र आज गर्ने भनिएको कार्यक्रम दिउँसोदेखि आज सोल्टीमा आयोजन गरिएको हो ।

छलफलमा डेढ दर्जन मारवाडी समुदायका व्यवसायी र आधा दर्जन अन्य रहेको सोल्टीको मार्केटिङ विभाग स्रोतले पुष्टि गरेको छ । आगामी भ्यालेन्टाइन्स डेको अवसर पारेर संयुक्त अरब इमिरेट्सको दुबईमा घरजग्गा तथा सम्पत्ति प्रदर्शनी हुँदैछ । युएईले विदेशी लगानी भित्र्याउन दुबईमा इन्टरनेशनल प्रोपर्टी शोको नाममा फेब्रुअरी १२ देखि १४ तारिखसम्म इन्टरनेशनल रियल इस्टेट एक्जिबिसन गर्दैछ । 

त्यसका लागि विशेषगरी दक्षिण एशियाका धनी व्यवसायीलाई आकर्षण गर्न अहिले विभिन्न मुलुकका महँगा होटलमा कार्यक्रम भइरहेको छ । सोही क्रममा काठमाडौंको होटल सोल्टीमा पनि दुबईमा गरिने लगानी र किन्न सकिने सम्पत्तिबारे जानकारी गराइएको थियो ।

काठमाडौं नेपाल दुबई प्रोपर्टी शोको नाममा गरिएको विज्ञापनमा आज लगानी गरेर भविष्य सुरक्षित तुल्याउन आग्रह गरिएको छ । सम्पर्कको निम्ति भारतीय टेलिफोन नम्बर ९१ ९७१११ ०१८३३ र सोही नम्बरको ह्वाट्सएप दिइएको छ । दुबईमा लगानी गर्नेलाई त्यहाँको गोल्डेन भीसा प्राप्त गर्ने सुनौलो अवसर आयो पनि भनिएको छ । 

"उक्त गोप्य कार्यक्रममा सहभागी हुन पुगेका व्यवसायीको पासपोर्टलगायतका कागजात जफत गर्न नेपाल प्रहरीको एउटा टोली अहिले भर्खर सोल्टी पुगेको बताइएको छ ।"

केन्द्रीय बैंकले नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुनेगरी कुनै पनि कार्यहरु गर्न नपाउने जानकारी गराएको छ । उक्त ऐनमा विदेशमा घरजग्गा खरिद,धितोपत्र खरिद,सम्पत्ति खरिद,विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायत पुँजीगत प्रकृतिका कारोबार र सोसम्बन्धी प्रचारप्रसार समेत गर्न नपाइने व्यवस्था छ । 

तर आज ती प्रतिबन्धित कार्यलाई सहयोग पुग्नेगरी सोल्टीमा नेपालमा बसोबास गर्दै आइरहेका व्यवसायीले कार्यक्रम गरेका हुन् । यससम्बन्धी समाचार जनआस्था साप्ताहिकको गत बुधबारको अंक र जनआस्था अनलाइनमा गत शुक्रबार ‘विदेशतिर पैसा ओसार्न खोज्ने यी वरिष्ठहरु’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

उक्त गोप्य कार्यक्रममा सहभागी हुन पुगेका व्यवसायीको पासपोर्टलगायतका कागजात जफत गर्न नेपाल प्रहरीको एउटा टोली अहिले भर्खर सोल्टी पुगेको बताइएको छ ।
 

टिप्पणीहरू