नेपालबाट डलर लैजान खोज्नेहरुमध्ये पाँच जनाको पासपोर्ट जफत

नेपालबाट डलर लैजान खोज्नेहरुमध्ये पाँच जनाको पासपोर्ट जफत

नेपालबाट डलर विदेश लैजान होटल सोल्टीमा व्यवसायीहरुले गरेको छलफलमा सहभागीमध्ये पाँच जनाको राहदानी जफत गरिएको छ । नेपाल राष्ट्र बैंकको सूचनाको बर्खिलाप हुनेगरी सोल्टी होटलमा युनाई अरब इमिरेट्सको दुबईमा डलर पर्याउने र त्यहाँको घर जग्गा किन्ने सम्बन्धमा दुई दर्जन व्यवसायीहरुले कडा सुरक्षाबीच कार्यक्रम गरेपछि प्रहरीले पाँच जनाको राहदानी जफत गरेको छ ।

नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा लगानी गर्न नपाइने प्रचलित कानुनबारे गत साता नेपालका डलर अर्बपतिदेखि नेपाली अर्बपतिहरूलाई सम्झाउँदै सूचना जारी गरेको थियो । आज राहदानी जफत भएकाहरुमा दुबईमा बस्दै आएका भारतीय भएको प्रहरीले बताएको छ ।

बिचौलिया दिपक भट्टको शंकास्पद कारोबारबारे अघिल्लो साता खबर बाहिरिएलगत्तै प्रकाशित बैंकको उक्त सूचनाले विदेश गएर छोराछोरीको विवाहमा करोडौं खर्चने, हुण्डी कारोबारबाट डलर विदेशमै राख्ने र बाहिर कमाएको रकममध्ये सुको यता नल्याउनेलाई झस्काएको बताइएको थियो । तर, आज उनीहरुले खुलमखुल्ला सोल्टीमा विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित व्यवस्थाको प्रतिकूल हुनेगरी कार्यक्रम गरेका हुन् ।

हिजो र आज गर्ने भनिएको कार्यक्रम आज दिउँसोदेखि सोल्टीमा भएको हो । छलफलमा डेढ दर्जन मारवाडी समुदायका व्यवसायी र आधा दर्जन अन्य रहेको सोल्टीको मार्केटिङ विभाग स्रोतले पुष्टि गरेको छ । 

आगामी भ्यालेन्टाइन्स डेको अवसर पारेर संयुक्त अरब इमिरेट्सको दुबईमा घरजग्गा तथा सम्पत्ति प्रदर्शनी हुँदैछ । युएईले विदेशी लगानी भित्र्याउन दुबईमा इन्टरनेशनल प्रोपर्टी शोको नाममा फेबु्रअरी १२ देखि १४ तारिखसम्म इन्टरनेशनल रियल इस्टेट एक्जिबिसन गर्दैछ । 

केन्द्रीय बैंकले नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुनेगरी कुनै पनि कार्यहरु गर्न नपाउने जानकारी गराउँदा गराउँदै पनि कार्यक्रम आयोजना गरिएको हो । उक्त ऐनमा विदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायत पुँजीगत प्रकृतिका कारोबार र सोसम्बन्धी प्रचारप्रसार समेत गर्न नपाइने व्यवस्था छ । 

तर आज ती प्रतिबन्धित कार्यलाई सहयोग पुग्नेगरी सोल्टीमा नेपालमा बसोबास गर्दै आइरहेका व्यवसायीले कार्यक्रम गरेका हुन् । यस सम्बन्धी समाचार जनआस्था साप्ताहिकको गत बुधबारको अंक र जनआस्था अनलाइनमा गत शुक्रबार ‘विदेशतिर पैसा ओसार्न खोज्ने यी वरिष्ठहरु’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

टिप्पणीहरू