यी हुन् दुबईतिर डलर लैजान उक्साउनेहरु,जसको पासपोर्ट समातियो आज

यी हुन् दुबईतिर डलर लैजान उक्साउनेहरु,जसको पासपोर्ट समातियो आज

नेपालबाट डलर विदेश लैजान होटल सोल्टीमा आज दिउँसो व्यवसायीहरुले गरेको छलफलमा सहभागीमध्ये पाँच जनाको राहदानी जफत गरिएको छ । नेपाल राष्ट्र बैंकको सूचनाको बर्खिलाप हुनेगरी सोल्टी होटलमा युनाई अरब इमिरेट्सको दुबईमा डलर पर्याउने र त्यहाँको घर जग्गा किन्ने सम्बन्धमा कार्यक्रम गरेपछि प्रहरीले पाँच जनाको राहदानी जफत गरेको हो ।

राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा लगानी गर्न नपाइने प्रचलित कानुनबारे गत साता सूचना जारी गरेको थियो । आज राहदानी जफत गरिएकामा दुबई बस्दै आएका भारतीयहरु रहेको प्रहरीले जनाएको छ ।

आयोजक संस्था डामाक प्रोप्राइटिज,दुबईको तर्फबाट सहभागी भएका पाँच जनामध्ये चार जना पुरुष र एक जना महिला छन् । जसमा भारतीय राहदानी नम्बर एम ३८७६०३९ प्रयोग गरेका उक्त संस्थाका एक्जिक्युटिभ बिजनेस डेभलपमेण्टका गुरचरण सिंह मेहता प्रमुख पात्र हुन् ।

त्यस्तै इन्भेष्टर मेडियटर्स अनुभव बर्माको राहदानी नम्बर पी २५९६११६, हर्ष शर्माको  पी ५१७६७३, राहदानी नम्बर जेड ४६८६४६१ का आफ्ताब हाम्जा जसनायक र भारतीय राहदानी नम्बर एन ७३७१३५० का रिलेसनसिप म्यानेजर काजल रवि अग्रवालको पनि राहदानी प्रहरीले नियन्त्रणमा लिएको छ ।  
उनीहरुले खुलमखुल्ला होटल सोल्टीमा विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित व्यवस्थाको प्रतिकूल हुनेगरी कार्यक्रम गरेकाले नियन्त्रणमा लिइएको बताइएको छ । डामाक कम्पनीले दुबईमा घरजग्गा खरिद बिक्रीको काम गर्छ । उनीहरुले नेपाली व्यवसायीहरुलाई त्यहाँको घरजग्गा खरिद र प्रक्रियाको बारेमा जानकारी गराउन आज कार्यक्रमको आयोजना गरेका थिए ।

काठमाडौं आएका उनीहरुमध्ये तीन जना होटल मेरियटमा र दुई जना सोल्टीमा बसेको पुष्टि भएको छ । उनीहरुले आज दिउँसो फेसबुक पेजमार्फत दुबईको घर जग्गा खरिद र बिक्रीबारे इच्छुकहरुलाई जानकारी गराएका थिए । नेपालीहरुमध्ये उनीहरुसँग फेसबुकमार्फत् जोडिएका व्यवसायीको सोधखोज र ती भारतीयमाथि थप अनुसन्धान थालिएको छ ।

उनीहरुले फेसबुक पेजमा अपार्टमेन्टस, भिल्ला वा टाउन हाउसमध्ये केमा रुची राखेको ? दुई करोडदेखि सात करोडभन्दा बढी नेपाली रुपैयाँमध्ये कति लगानी गर्न सक्ने क्षमता रहेको ? अनि दुबई घरजग्गा मेलामा कुन समयमा सहभागी हुनसक्नेलगायतका जिज्ञासाको जवाफ दिएको बताइएको छ ।
 

टिप्पणीहरू