निर्मलालाई न्याय दिलाउन आज पनि धर्ना
बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै अधिकारकर्मीहरुले आज फेरि धर्ना दिने भएका छन् ।
२६ दिनदेखि निरन्तर आन्दोलन गरिरहेका उनीहरुले आज त्यसलाई अलि चर्काउन लागेका हुन् । गृहमन्त्रीले आएर भेटी झूठो आश्वासन दिएको र न्यायका लागि खास पहल नगरेको भन्दै आज दिउँसो २ बजेदेखि राजधानीको माइतीघर मण्डलामा ‘बृहत नागरिक आन्दोलनको विशेष प्रदर्शन’ गर्न लागिएको हो ।
आन्दोलनकारीहरुले लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् । महिला अधिकारकर्मी रुबी खानसहितको टोलीले बिहान कलँकीबाट माइतीघर मण्डलासम्म सिठ्ठी जुलुस निकालेको छ । यसअघि नेपालगञ्जबाट हिँडेर काठमाडौं आएको उक्त टोलीलाई सरकारले विभिन्न आश्वासन दिएर फिर्ता पठाएको थियो ।
सरकारले बारम्बार न्यायका लागि वार्ता–सहमति गरेर पठाएपनि अहिलेसम्म मुद्दा अदालतसम्म नपुगेकाले आन्दोलनका लागि काठमाडौं आउनुपरेको महिला अधिकारकर्मी खानले बताइन् ।प्रदर्शनकारीहरुले निर्मलालाई न्याय दिन सरकारसँग जोडदार माग गर्दै आएका छन् । साथै, सिआईबीको अनुसन्धान एक वर्ष पूरा भए पनि अधुरै रहेको उनीहरुको आरोप छ ।
टिप्पणीहरू