अपहरणपछि भारतमा मारिएका दुई युवकको पक्षमा प्रदर्शन
भारतमा अपहरणपछि मारिएका जनकपुरधामका दुई युवकलाई न्याय दिलाउन जिल्ला प्रहरी कार्यालय, धनुषाअगाडि प्रदर्शन गरिएको छ । प्रहरीको कमीकमजोरीले गर्दा अपहरणमा परेका दुई युवकको हत्या भएको भन्दै मृतकका आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् ।
दुई सातादेखि सम्पर्कविहिन भएका जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको भारतको बिहार राज्यमा पर्ने सीतामढी जिल्लामा हत्या भएको अवस्थामा हिजो शव फेला परेको थियो ।
एकै परिवारका दुवै जना मृतक सीतामढीमै पर्ने आफन्तको घर जाने क्रममा अपहरणमा परेका थिए । सोही क्षेत्रमा दुई वटा शव फेला परेपछि भारतीय प्रहरीले सनाखतका लागि आफन्तलाई खबर गरेको थियो ।
आफन्तको घर पुगेका दुवै जना सम्पर्कविहिन भएको केही दिनपछि परिवारलाई फिरौतीका लागि भारतीय नम्बरबाट फोन आइरहेको थियो । शुरुमा ५० लाख मागेका अपहरणकारीले पछि २० लाखमा सहमति जनाएका थिए ।
अपहरणकारीले २० लाख सर्लाहीको मलंगवा नाकामा लिएर आउन भनेपछि मृतकका परिवारले प्रहरीलाई खबर गरे । तर, अपहरणकारीको फोन बन्द भएपछि परिवार तनावमा परेको थियो । प्रहरीलाई जानकारी गराउँदा पनि केही गर्न नसकेको भन्दै पीडित परिवार र स्थानीयले आन्दोलन थालेका हुन् । उनीहरुले प्रहरी प्रशासनविरुध्द चर्को नाराबाजी गरेका छन् ।
आन्दोलनकारीले ‘गृहमन्त्री- राजीनामा दे’,‘प्रहरी प्रशासन मूर्दावाद’,‘विष्णु र रोहितलाई न्याय दे’,लगायतका नारा लगाएका छन् । यता,धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले हाल प्रदर्शनकारीहरुसंग छलफल भइरहेको जानकारी दिए ।
त्यस्तै, प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको उनको भनाइ छ । हत्याको आरोपमा कुशनकुमार पण्डित र मुकेश पासवान पक्राउ परेका छन् । भारतीय प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिइसकेको डिएसपी क्षेत्रीले बताए ।
टिप्पणीहरू