रकमको लेनदेनमा विमानस्थलभित्र छिर्यो अख्तियार,वीचैमा दुई युवती प्रकट

रकमको लेनदेनमा विमानस्थलभित्र छिर्यो अख्तियार,वीचैमा दुई युवती प्रकट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विमानस्थलको डोमेस्टिकतर्फका कार्यालय प्रमुख पूर्णप्रसाद चुडालको कार्यकक्षमा आज दिउँसो छापा मारेको छ । सेवाग्राहीबाट डेढ लाख रुपैयाँ नगद लिएको सूचनालगत्तै आयोग टोली त्यहाँ पुगेको बताइन्छ । 

टोली पुग्दा नपुग्दै अर्को डेढ लाख रुपैयाँ भने गायव भएको थियो । तर सो रकम दिने सेवाग्राहीले पैसा मागेको र लिएको भिडियो,टेलिफोन,म्यासेज सबै सुरक्षित राखेको बुझिएको छ । कार्यालयमा रकम बुझ्ने बित्तिक्कै सेवाग्राहीलाई बस्न आग्रह गरिएको, सोही क्रममा दुई वटी युवती कार्यकक्षमा छिरेकोसम्म रेकर्ड आयोगको टोलीले फेला पारेको बताइन्छ । 

रकम दिएको आधा घण्टापछि सेवाग्राही त्यहाँबाट निस्केको र त्यसबीचमा अरु मान्छे छिरेका हुनाले सोही बेलामा रकम अन्यत्रै पुर्याइएको हुनसक्ने दाबी छ । सम्भवतः शौचालयमा उक्त रकम अर्कै मान्छेलाई हस्तान्तरण गरिएको हुनसक्ने आशंका छ ।

सेवाग्राहीसँग घुसवापत सोझै रकम लिएकाले आजको छापा स्टिङ्ग नभएको आयोग स्रोतले बतायो । विमानस्थलका कर्मचारीले भित्र छिर्ने पासको निम्ति ट्राभल एजेन्सीसँग घुस लिने गरेको र सोही क्रममा आज फेला परेको सुरक्षा श्रोतले बतायो । ट्राभल एजेन्सीहरुसँग पासवापत मासिक १० हजार प्रति एजेन्सीको दरले रकम बुझ्दै आएको तथ्य पनि खुलेको छ । रकम नल्याउने एजेन्सीलाई धम्की दिएर आइन्दा पास उपलब्ध नगराउने बताएपछि आज उक्त रकम बुझाउन गएको बुझिएको छ । रकम दिइएको भिडियो र भ्वाइस अख्तियारले फेला पारेको छ ।

विमानस्थलमा सामान्यतयाः पाँच किसिमका पास वितरण गरिन्छ । आगन्तुकलाई भी, विमानस्थलमा कार्यरत कर्मचारीको निम्ति एस, विदेशी कुटनीतिक नियोगलाई एफ, विशेषलाई एसपी र कामदारलाई डब्लु लेखिएको पास दिने गरिएको छ ।
 

टिप्पणीहरू