विमानस्थल प्रमुखलाई अख्तियारले लग्यो आफ्नै हिरासतमा

विमानस्थल प्रमुखलाई अख्तियारले लग्यो आफ्नै हिरासतमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दिउँसो छापा मारेपछि लाखौं रुपैयाँ, मोबाइल,महँगा रक्सीसहित समातिएका काठमाडौंस्थित आन्तरिक विमानस्थल कार्यालयका प्रमुख पूर्णप्रसाद चुडाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका छन् ।

उनलाई प्रहरी वृत्त गौशालाको सहयोगमा आयोगले साढे ७ बजे आयोगको केन्द्रीय कार्यालय परिसर, टंगालस्थित डिआइजी टेकप्रसाद तामाङ्ग नेतृत्वको हिरासतमा लगेको छ । यसअघि दिउँसो साढे १२ बजेको समयदेखि टोलीले उनको कार्यकक्षमा छापा मार्न थालेको थियो । 

त्यसपछि गरिएको खानतलासीमा उनको कार्यकक्षबाट ठूलो परिमाणको महँगा रक्सी र लाखौं रुपैयाँ फेला परेको सुरक्षा श्रोतको दावी छ  । अख्तियारको टोली डेढ लाख रुपैयाँ एउटा ट्राभल एजेन्सीसँग घुस लिएको जानकारी प्राप्त गरेपछि त्यहाँ पुगेको थियो ।

टोलीले खानतलासी गर्दा उनको कोठामा रहेको सेफबाट आठ लाख रुपैयाँ फेला परेको थियो । त्यसैगरी केही थान मोबाइल,रेड लेबल,ब्ल्याक लेबललगायत महँगा रक्सी पनि फेला परेपछि निजमाथि कार्यालयमै प्रारम्भिक अनुसन्धान गरिएको बताइन्छ । 

अख्तियारको टोलीले प्रहरी वृत्त गौशालाको सहयोगमा छानबिन गरेपछि अहिले थप अनुसन्धानको निम्ति टंगाल पुर्याइएको हो ।

टिप्पणीहरू