डेढ लाख घुस बेपत्ता, अडियो र एसएमएस सुरक्षित

डेढ लाख घुस बेपत्ता, अडियो र एसएमएस सुरक्षित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो दिउँसो छापा मारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडालबाट घुसवापतको डेढ लाख रुपैयाँ अहिलेसम्म फेला पर्न सकेको छैन । बरु उल्टै उनको कार्यकक्षमा रहेको सेफबाट आठ लाख नगद र केही मोबाइल सेट तथा महँगा रक्सीको बोटल भने बरामद भएको छ । उनलाई हिजो रातीदेखि आयोगको केन्द्रीय कार्यालय टंगालको हिरासत कक्षमा राखिएको छ ।

ट्राभल एजेन्सी कम्पनीहरुलाई महिनाको १० हजार रुपैयाँ लिएर प्रवेश पासको व्यवस्था गर्दै आएका चुडाल हिजो एउटा कम्पनीसँग झण्डै डेढ वर्षदेखिको बक्यौता रकम लिएर पास उपलब्ध गराउने क्रममा आयोेगको टोलीको फन्दामा परेका हुन् । ट्राभल एजेन्सीका
प्रतिनिधि आयोगका कर्मचारीलाई पूर्व जानकारी गराएर डेढ लाखको मुठोसहित त्यहाँ पुगेका थिए । उनले घुसमा दिइने नोटको नम्बरसमेत टोलीलाई पहिले नै टिपाएको बताइन्छ ।

उनी चुडालको कार्यकक्षमा प्रवेश गरेर डेढ लाख रुपैयाँ दिनुअघि भएको कुराकानी, आदानप्रदान गरेको म्यासेजसमेत अख्तियारले प्राप्त गरिसकेको छ । ‘रकम दिनासाथ चुडालको कोठामा दुई जना युवती छिरे । उनीहरुबीच कुराकानी भयो । त्यही बीचमा प्रमुख चुडाल शौचालय पनि गए । त्यो भनेको झण्डै आधा घण्टाको अवधि हो,’ ट्राभल एजेन्सीका प्रतिनिधिको भनाइ उद्धृत गर्दै आयोग स्रोतले भन्यो, ‘त्यसबीचमा उनले घुस वापतको रकम अन्यत्र पठाएको आशंका छ । मैले पनि रकम दिएपछि अरु मेलोमेसो पाइन । त्यहाँबाट निस्केपछि मात्रै आयोगको टोलीलाई खबर गरेँ ।’

लगत्तै आयोगको टोली छिरेर चुडालसँग घुसवापत लिएको डेढ लाख रुपैयाँबारे सोधखोज गरेको थियो । तर उनले पनि घुस रकमबारे अनभिज्ञता प्रकट गरेका थिए । 
चुडालको कोठामा रहेको सेफ खोलेर हेर्दा त्यसभित्र आठ लाख रुपैयाँ नगद,रक्सीका बोतल र मोबाइल सेटहरु फेला परेका छन् । 

घुसवापतको रकम हिजो फेला नपरे पनि आजबाट शुरु हुने अनुसन्धानको क्रममा उक्त रकम फेला पर्ने अनुसन्धान अधिकृतहरुको विश्वास छ । घुसवापत दिइएको रकम अगावैको म्यासेज, टेलिफोनले उक्त प्रमाण पुष्टि हुने उनीहरुको भनाइ छ । त्यसैगरी कार्यालयको सिसिटिभीमा देखिएका ती दुई युवती पनि थप प्रमाण खोजीको निम्ति सहायक हुने भएकाले चुडाललाई घुस्याहा ठहर्याएर मुद्दा  चलाइनेमा कुनै शंका नरहेको बताइन्छ । 

उनले कार्यालयको सेफमा राखिएको आठ लाख रुपैयाँको स्रोतबारे पनि ठोस रुपमा बताउन सकेका छैनन् ।

 

टिप्पणीहरू