आत्मदाहको घटनामा आफूसमेत दोषी रहेको गृहमन्त्रीको स्वीकारोक्ति

आत्मदाहको घटनामा आफूसमेत दोषी रहेको गृहमन्त्रीको स्वीकारोक्ति

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम प्रसाद आचार्यको आत्मदाहलाई नयाँ राजनीतिक शक्तिहरुको उदयले पनि आशा जगाउन नसक्नुको परिणाम भनेका छन् । हिजो बानेश्वर चोकमा आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज निधन भएपछि गृहमन्त्रीको यस्तो टिप्पणी आएको हो । 

गृहमन्त्री लामिछानेले विगतदेखिको निराशा र नयाँ दलहरूको आगमनले पनि उत्साह थप्न नसकेपछि आचार्यले आत्मदाह गरेको भन्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, 'मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम  हो । दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु ।'

हिजो दिउँसो संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । आगो लगानुअघि उनले आफ्नो असफलताको कथासहित राजनीति र व्यवस्थाप्रति असन्तुष्टी जनाउँदै फेसवुकमा लामो स्टाटस लेखेका थिए ।

मुलुक चलाउने हुटहुटीमा सत्तामा पुगेका भन्दै उनले उपप्रधानमन्त्री लामिछानेलगायत नयाँ राजनीतिक शक्ति र पात्रहरुलाई जनताका मुद्दा आँखा च्यातेर केलाउन आग्रह गरेका थिए ।

टिप्पणीहरू