हरिको कार्यकाल लम्ब्याउने खेल होला त सफल ?

हरिको कार्यकाल लम्ब्याउने खेल होला त सफल ?

नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष हरि रावल आफ्नो कार्यकाल बढाउने खेलमा लागेको खुलेको छ । पाँच वर्ष महासचिव र सात वर्ष अध्यक्ष गरी १२ वर्षदेखि संगठनको नेतृत्वमा रहेका उनले पुनः एकदेखि डेढ वर्ष कार्यकाल बढाउने योजना बनाएपछि अन्य पदाधिकारीहरु असन्तुष्ट देखिएका छन् । 

जनआस्थासंग कुरा गर्दै संगठनका केही सदस्य र पदाधिकारीले बताए-यही माघ २० र २१ गते भैरहवामा महाधिवेशन गरेर नयाँ नेतृत्वका लागि बाटो खोल्ने तय गरिएको थियो । कार्यतालिकासमेत सार्वजनिक गरिसकेको महाधिवेशन हरि पक्ष अडिग नभएपछि स्थगित गर्नुपर्यो । 

सो मितिमा उनले काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएर आफ्नो कार्यकाल लम्ब्याउने कसरत गरिरहेको बुझिएको स्रोतले बतायो । अर्को पक्षले यसको विरोध गर्ने तयारी गरिरहेको स्रोतको भनाइ छ । स्रोतले भन्यो,‘संगठनका केही आसेपासेको उक्साहट र कर्णाली प्रदेशका नेताहरु जनार्दन शर्मा, महेन्द्रबहादुर शाहीदेखि पार्टीको कर्मचारी फ्याक्सनको ईञ्चार्ज पम्फा भुसालसम्मलाई उनले रिझाएका छन् ।’

पहुँच र प्रभावका बलमा अरु कसैलाई नेता नदेख्ने उनले संगठन छोड्नुपरेको अवस्थामा पार्टीको मूलधारभित्रै आफ्नो लागि स्थान सुरक्षित हुनुपर्ने माग राख्दै आएका छन् । सो शर्त पूरा नभएसम्म संगठनमा आफ्नो स्थान सुरक्षित राख्न उनले हरसम्भव प्रयास गरेका छन् । पूर्वमन्त्री जनार्दन शर्माको खास मान्छे भनेर चिनिएका उनीसंग टक्कर दिन सक्ने अन्य कोही पनि छैन् । 

कोही बलिया प्रतिद्वन्द्वी फेला नपरेपछि नेता वर्षमान पुनलगायतले पनि कुरा फेरेको कारण परिस्थिति हरिको पक्षमा रहेको अधिकांशको बुझाइ छ । वर्षमानले कहिले संगठनभित्र नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर आवाज उठाउने गरेका छन् । कहिले उनी हरिको नेतृत्वलाई नै सही साबित गरिरहेको भेटिन्छन् । 

निकट कर्मचारीलाई कमाइधमाइ हुने हुने अड्डामा पदस्थापन गराउने र स्वार्थसिध्द गर्ने आरोप पनि हरिमाथि नलागेको होइन । हरिको पक्ष महालेखा नियन्त्रक कार्यालयमा तुल्सी वाग्लेमार्फत लेखा अधिकृत तथा उपसचिवहरुको हालैको सरुवामा स्वार्थसिध्द गरेको एक संगठनका सदस्यले जनआस्थासंग बताए । उनका हरेक क्रियाकलापमा साथ दिनेहरु लेखापाल कृष्ण बन्जाडे, उमेश यादव,राजु राणा,विष्णु चौलागाईं, लोकेन्द्र चौलागाईंंलगायतका रहेका छन् । 

यसभन्दा अगाडि विष्णु पाण्डे, मधुसुदन अधिकारी,रुक्म लामिछाने, मोनमान स्वाँर,दयाराम भुसाललगायतका व्यक्तिहरु संगठनका अध्यक्ष भइसकेका छन् । तर,पदको लोभलालच गरेका हरिले  आफ्नो कार्यकाल लम्ब्याएर सबैलाई चक्मा दिने भएका छन् ।

टिप्पणीहरू