इच्छाराजले गरेका बदमासीको ठेली एमाले अध्यक्ष ओलीको हातमा

इच्छाराजले गरेका बदमासीको ठेली एमाले अध्यक्ष ओलीको हातमा

सिभिल सेभिङ्ग्स एण्ड क्रेडिट कोअपरेटिभका तत्कालीन अध्यक्ष एवम् बैंकर तथा घरजग्गा व्यवसायी इच्छाराज तामाङले गरेका  बचतकर्ताको अरबौं रुपैयाँ घोटालाको फेहरिस्त एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको छ । सिभिल सहकारीका डेढ दर्जन पीडित बचतकर्ताले ओली निवास बालकोट पुगेर तामाङले गरेका बदमासीको विवरण लिखित रुपमा बुझाएका हुन् ।

उनीहरुले सिभिल सहकारीका इच्छाराज तामाङ र केशवलाल श्रेष्ठसमेतले १५ सय ४६ जना बचतकर्ताको झण्डै ६ अरब रुपैयाँ अपचलन गरेकोलगायतका विषयबारे जानकारी गराएका हुन् । एमालेको तर्फबाट संविधानसभा सदस्यसमेत रहेका इच्छाराजले सहकारीको अचल सम्पत्ति निजी बनाएको,उच्च अदालत पाटनले ९ महिनाभित्र सबै बचतकर्ताको रकम फिर्ता गर्न दिएको आदेश पालना नगरेको उनीहरुको भनाइ छ ।

अधिकांश बचतकर्ता ज्येष्ठ नागरिक,महिला भएको उल्लेख गर्दै उनीहरुले अध्यक्ष ओलीसमक्ष सिभिल सहकारीमा इच्छाराज र केशवलालले गरेका मुख्य २० ठगी, उच्च अदालत पाटनको आदेश, सहकारीमा भएको समस्या समाधानका उपायको लिखित विवरण बुझाएका छन् ।

जिल्ला,उच्च अदालत तथा विशेष अदालतका आदेश र अन्य डकुमेन्ट सरसर्ती अध्ययन गरेपछि अध्यक्षले बचतकर्ताको रकम फिर्ता गराइदिन पहल गर्ने वचन दिनुभएको पीडितहरुले बताएका छन् ।
 

टिप्पणीहरू