ज्वाला सिंहको जग्गा हडप्ने मातृकाको दाउ

ज्वाला सिंहको जग्गा हडप्ने मातृकाको दाउ

-सन्तोष बराइली

यसअघि सिराहाबाट गोरखा हुँदै रातारात गृह मन्त्रालय तानिएका सिडियो लालबाबु कवारीमाथि पुनः प्रश्न उठेको छ । नागेन्द्र पासवान उर्फ ज्वाला सिहंको नाममा रहेको सिरहाको मिर्चैया ६ स्थित करिब १ बिगाहा जग्गा हडपेका माओवादी नेता मातृका यादवको चक्रब्युहमा उनी परेको बताइन्छ । उक्त घटनाले द्वन्द्वकालमा नेकपा माओवादीको नाममा कब्जा गरिएका जग्गा नेता,कार्यकर्ताले आफ्नो नाममा ल्याएर भोगचलन गरेको रहस्योद्घाटन पनि भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले जनआस्थालाई उपलब्ध गराएको कागजातमा मिर्चैया ७ स्थित २ बिगाहा जग्गा २०५३ फागुन ३० गते नागेन्द्र पासवानको नाममा दर्ता भएको देखिन्छ । 

उनी तिनै नागेन्द्र हुन् जसले माओवादी हुँदै जनतान्त्रिक मुक्ति मोर्चा खोलेर अपहरण,व्यक्तिहत्या र चन्दा आतंकले कुनैबेला मधेशलाई आतंंकित बनाएका थिए । उनको उपनाम ज्वाला सिंह हो । सिंह अहिले भारतको मुजफ्फपुरमा मिल चलाएर बस्छन् भने उनको सशस्त्र समूह अस्तित्वविहीन छ । नागेन्द्रको नाममा दर्ता रहेको उक्त जग्गा २०७६ जेठ १४ गते राजेश्वरप्रसाद साहको नाममा बकायदा रजिष्ट्रेसन पास गरेको देखिन्छ । त्यसबेला प्रहरी प्रशासनको मोस्ट वान्टेड सूचीमा रहेका नागेन्द्र उर्फ ज्वाला सिंह भूमिगत थिए ।

यसरी खुल्यो पोल

२०७८ फागुन १४ गते मिर्चैया ६ का रोहितकुमार साहले जिल्ला प्रशासन कार्यालय सिराहामा सोही जग्गा रोक्का गरिपाउँ भनी निवेदन दर्ता गरेका थिए । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले निवेदनउपर कार्वाही अघि बढाए । अनुसन्धानले त्यो जग्गा माओवादीले सशस्त्र युध्द थालेको एक वर्षपछि कब्जा गरेको तथ्य खुल्यो । सिडिओ कवारीले आवश्यक निर्देशनका लागि सप्रमाण गृह मन्त्रालयलाई २०७८ फागुन १६ गते जानकारी गराए पनि मन्त्रालयबाट कुनै निर्देशन प्राप्त नभएको बताइन्छ । यसो हुनुमा भित्रभित्रै अर्कै खेल शुरु भइसकेको स्रोतको दाबी छ ।

जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार माओवादी युध्दकालमा कब्जा गरिएका जग्गा भागबण्डाको क्रममा नागेन्द्रबाट राजेश्वरप्रसाद साहको भागमा परेको हो । राजेश्वर माओवादी केन्द्रका उपमहासचिव मातृका यादव निकट स्थानीय कार्यकर्ता हुन् । अर्को एउटा स्रोत भन्छ, ‘कारवाही थालेपछि मातृका,माओवादीबाट जितेका मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव,अर्का माओवादी नेता चन्देश्वर यादवलगायतले सिडिओ कवारीलाई थेग्नै नसक्ने गरी कार्वाही रोक्न प्रेसर दिए । कतिसम्म भने उनीहरुले कवारीलाई कार्वाही नरोके भविष्यमा अप्ठ्यारो पर्ने धम्की नै दिए ।’

कतिपयले बारम्बार आर्थिक प्रलोभन समेत दिएको दाबी गरेका छन् । ५ वटा कित्तामा रहेको उक्त जग्गाका कित्ता नम्बर क्रमशः १२५२ , १२५४ , १२ ५६,  १२५८ र १४७६ हो । कवारीले यसबारे चुनावअघि मिर्चैया पुगेका माओवादी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी गराएको बताइन्छ । 

 सोही कारण मातृकाले प्रधानमन्त्रीमार्फत् मधेश प्रदेशका कवारीलाई दुःख दिन गोरखा पुर्याएको सिरहामा चर्चा छ । दुःख  दिने नियतले यादवकै आग्रहमा रातारात गोरखाबाट पुन :मन्त्रालय तानियो । अहिले उनलाई गृह मन्त्रालयबाट अन्यत्र पठाउन सोही समूह लागिपरेको स्रोतको दाबी छ ।

टिप्पणीहरू