एनआईसी एशिया बैंकका ग्राहक तनावमा,अर्कै कित्ताको घर लिलाम

एनआईसी एशिया बैंकका ग्राहक तनावमा,अर्कै कित्ताको घर लिलाम

बुटवलमा सूचनाबमोजिम लिलाममा घरजग्गा सकार्ने व्यक्ति तनावमा छन् । पौने एक करोडमा किनिएको घर नै फरक कित्तामा बनेको रहस्य खुलेपछि तनाव बढेको बताइन्छ । एनआइसी एशिया बैंकको बुटवल शाखाले गरेको घरजग्गा लिलामीमा उक्त अवस्था आइपरेको हो । ऋणीले समयमा कर्जा चुक्ता गर्न नसकेपछि अघिल्लो वर्ष माघ ४ गते  सात दिनको म्याद राखेर रुपन्देहीको सैनामैना नगरपालिका १ कित्ता नम्बर ८५६ ,बुटवल उपमहानगरपालिका ११ को कित्ता नम्बर ३९५ र देवदह नगरपालिका ९ को कित्ता नम्बर ७३७ का घरजग्गाहरु लिलाम बिक्रीको सूचना निकालिएको थियो ।

यसक्रममा बुटवल उपमहानगरपालिका ११ को कित्ता नम्बर ३९५ को घर खरिद गर्न परेका विभिन्न बोलपत्रमध्ये मालिका गाउँपालिका अर्जै गुल्मीका रामप्रसाद पोख्रेलको बोलपत्र स्वीकृत भयो । जसअनुसार ७० लाख रुपैयाँ बैंकले बुझेपछि अघिल्लो वर्ष चैत ८ गते उक्त घर पोख्रेलको नाममा नामसारीसमेत भयो । तर घर भोगचलन गर्ने बेलामा समस्या आएको छ । 

उक्त घर कित्ता नम्बर ३९५ मा भन्दा फरक कित्तामा देखिएपछि संधियारले बिरोध गरेसङ्गै पोखरेलले राष्ट्र बैंकलाई उजुर गरे । उनको निवेदनका आधारमा नापी कार्यालय बुटवलबाट अमिन उत्सव न्यौपानेसहितको टोलीले फिल्ड निरीक्षण गरेपछि घर अर्कैको जग्गामा  बनाइएको पुष्टि भयो । 

तर घरले चर्चेको जग्गा पाँच धुर देखिएन । पीडितका आफन्त छाया पोख्रेलका अनुसार अमिन टोलीले पनि सोहीबमोजिम फिल्ड मुचुल्का तयार गर्यो । अर्कैको जग्गामा घर परेपछि पोखरेल परिवारले एनआईसी बैंकसँग पैसा फिर्ता गर्न अनुरोध गर्यो । तर लिलामपछि नामसारी भइसकेको आशयको कुरो गर्दै बैंकले पोखरेललाई भुलाउनतिर लागेको आरोप छ । आफूहरुलाई अल्मलाउन खोजेपछि बाध्य भएर बैंकको प्रादेशिक कार्यालय रहेको बुटवलको जानकीनगरमा पीडितले बुधवार तालाबन्दी गरेका छन् । 

तालाबन्दीपछि बैंकले पोखरेलसँग पत्राचार गरेर ४५ दिनभित्र बिक्री गरेकै मूल्य बराबरको रकम फिर्ता दिने जनाएको छ । तर पत्रमा नियमानुसार ब्याजको रकम फिर्ता गर्ने कुनै आशय उल्लेख छैन । यस्तै दुई वर्षअघि बुटवल १६ सेमलारमा सोही बैंकको शाखा कार्यालय सालझण्डीले १७ धुर जग्गामा रहेको घर लिलामका लागि सूचना प्रकाशित गरेको थियो । त्यसमा गुल्मीका राजु अर्यालले ७३ लाखको शिलबन्दी बोलपत्र  हालेपछि उनको बोलपत्र स्वीकृत भयो ।

अर्याल उक्त घर खाली गरेपछि मात्र पास गर्न चाहन्थे तर बैंकले अर्काको नाममा हुँदाहुँदै त्यसो गर्न नमिल्ने भनेपछि मालपोत कार्यालय बुटवलमा गएर राजु अर्यालका नाममा रजिष्ट्रेसन पास गराइयो । पछि पुराना घरबेटीबाट कुनै समस्या नपर्ने भनी बैंकले आश्वस्त तुल्याएको अर्याल बताउँछन् । तर अर्यालको हातमा अहिले लालपुर्जा बाहेक न घर छ न पैसा नै । 

‘७३ लाखको लगातार ब्याज तिर्नुपर्दा हामी पीडित भएका छौं,’ उनले भने । बैंकले पास गर्ने क्रममा घर खाली गर्ने आश्वासन दिएपनि अहिले धोका भएको उनको भनाइ छ । त्यसबारे अहिले अदालतमा मुद्दा विचाराधीन रहेको बैंकको दाबी छ । तर बैंकका प्रदेश प्रमुख तिलक कार्कीले पहिलेको घरबेटीले स्वत: खाली गर्नुपर्ने बताए । बैंकले पास गरेर दिएपछि खाली गर्नुपर्ने बैंकको दायित्व हो कि होइन ? भनेर जनआस्थाले राखेको जिज्ञासामा कार्कीले पीडितसँग कुरा गर्ने जानकारी दिए । उता राष्ट्र बैंक सिध्दार्थनगरका अधिकारीहरुले पनि यस प्रकारका उजुरी सबैभन्दा बढी एनआईसी एशियाको आउने गरेको अनुभव सुनाए ।


 

टिप्पणीहरू