लालुपातेका बचतकर्ता निरन्तर आन्दोलनमा, तत्कालीन अध्यक्ष र परिवारका सदस्यविरुद्ध मुद्दाको तयारी

लालुपातेका बचतकर्ता निरन्तर आन्दोलनमा, तत्कालीन अध्यक्ष र परिवारका सदस्यविरुद्ध मुद्दाको तयारी

खोटाङको लालपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलनमा मुछिएका तत्कालीन अध्यक्ष अनिल जोशी र उनको परिवारका सदस्यविरुद्ध ठगी कसूरमा मुद्दा चलाइने भएको छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, सुनसरीले उनी र उनको परिवारविरुद्ध रकम अपचलन, ठगी कसूर वा असुलउपरको प्रक्रिया गर्न सञ्चालन समितिलाई निर्देशन दिएको छ । 

आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षणका क्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको आठ करोड ४६ लाख ८९ हजार ६७८ रुपैयाँ थैलो कायम गरी मुद्दा चलाउन र असुलउपर प्रक्रिया अघि बढाउन कार्यालयले भनेको छ । 

त्यस्तै, परिवारको नाममा रहेको ९ करोड ११ लाख १७ हजार ६७८ रुपैयाँमध्ये सहकारीले धितो लिलाम गरेर ८० लाख असुलउपर गरेको छ । समितिले पछिल्लो पटक हिसाब गर्दा उनी र परिवारका सदस्यका नाममा थप १५ लाख ७२ हजार रकम फेला पारेको हो । 

गत पुस २३ देखि २९ गतेसम्म गरिएको अनुगमन पश्चात् कार्यालयले सहकारीका सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुलउपर गर्न सम्पूर्ण खालका कारबाही प्रक्रिया अपनाउन सुझाव दिएको छ । 

उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ २०७२ मंसिर १० गतेदेखि दिक्तेल बजारमा कारोबार शुरु गरेको सहकारीको बचत अपचलन भएको विषय अध्यक्ष जोशीको निधनपछि मात्र बाहिर आएको हो । कोरोनाका कारण उनको २०७८ वैशाख १५ गते पोखरामा निधन भएको हो । त्यसपछि निक्षेपकर्ताहरुले आफ्नो बचत रकम फिर्ता मागेका थिए । 

तर, सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै देखेनन् । खोजी गर्ने क्रममा रकम अपचलन भएको यथार्थ बाहिर आएको हो । 

अध्यक्ष जोशी र तत्कालीन व्यवस्थापक रुकु जोशीले बचत रकम अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता निरन्तर आन्दोलनमा छन् । कार्यालयले साविकमा भएको हिनामिना तथा बेरुजु असुलउपरको लागि कारबाहीका सबै प्रक्रिया थाल्न, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पूरानो नउठेको ऋण असुलउपर गर्न वा मालपोत कार्यालयमा रोक्का राख्न, हिनामिना भएको रकमको निम्ति रोक्का राखेको जग्गा बेचबिखनमा लैजान भन्दै १६ बुँदे निर्देशन दिएको छ । 

निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गरेको निर्देशनमा संस्थाका कर्मचारीलाई कार्यालय खोलेर बस्ने वातावरण सिर्जना गर्नुपर्ने, सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग समेत समन्वयको वातावरण सिर्जना गर्नुपर्ने, आर्थिक वर्ष २०७८–०७९ को लेखापरीक्षण सम्पन्न गरी साधारण सभा बोलाएर हिनामिना र ऋणको असुली गर्नुपर्नेलगायत विषय उल्लेख छ । 

सहकारीको नाममा खरिद गरेको जग्गासमेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको छ । त्यसमध्ये तत्कालीन व्यवस्थापक रुकुको नाममा हलेसी र बाम्राङमा रहेका केही कित्ता जग्गा सहकारीकै नाममा फिर्ता ल्याइएको छ ।

टिप्पणीहरू