२०८० सालका लागि १२ कक्षाको परीक्षाको आवेदन खुला

२०८० सालका लागि १२ कक्षाको परीक्षाको आवेदन खुला

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा आवेदन फारम खुला गरेको छ । नियमित, ग्रेडवृद्धि र आंशिक परीक्षाका लागि बोर्डले यही माघ मसान्तसम्म फारम खुलाएको हो । 

२०८० सालमा सञ्चालन हुने परीक्षाको आवेदन फाराम विद्यार्थी स्वयंले भर्नुपर्ने बताइएको छ । साथै, बोर्डले कक्षा ११ को पनि ग्रेडवृद्धि तथा आंशिक परीक्षाको लागि आवदेन खुला गरेको छ ।

बोर्डका अनुसार रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक ७२, ७३, ७४ र ७५ भएका परीक्षार्थीका लागि आवेदन दिने यो अन्तिम अवसर हो । उक्त समयावधि (माघ मसान्त) भित्र आवेदन नबुझाउनेले १५ फागुल्नसम्ममा विलम्ब शुल्क (दोब्बर दस्तुर)सहित आवेदन दिनसक्ने बोर्डले जानकारी गराएको छ । 

साथै, कक्षा १२ को नियमित परीक्षार्थीको रुपमा आवेदन फाराम बुझाउने विद्यार्थीहरु (रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ७९ भएका) ले २०७९ सालमा विद्यालयमार्फत लिएको कक्षा ११ को सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी एंव आन्तरिक मूल्यांकनतर्फ सी ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । 

परीक्षा आवेदन फारामका साथ विद्यालयबाट दिइएको (तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको) कक्षा ११ को ग्रेडसीट प्रधानाध्यापकद्धारा अनिवार्य रुपमा प्रमाणित गराएको हुनुपर्ने बोर्डले बताएको छ । 

त्यस्तै, प्रयोगात्मक परीक्षा मात्र बाँकी भएका आंशिक र ग्रेडवृद्धि (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक ७२, ७३, ७४, ७६ र ७८ भएका) परीक्षार्थीहरुले समेत नियमित सहर शुल्क तिरेर आवेदन दिनुपर्ने जनाइएको छ ।

टिप्पणीहरू