बंगलादेशबाट फर्किएका विद्यार्थीले नेपालमा इन्टर्न गर्न नपाउने

बंगलादेशबाट फर्किएका विद्यार्थीले नेपालमा इन्टर्न गर्न नपाउने
सुन्नुहोस्

बंगलादेशबाट फर्किएका चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुले बाँकी इन्टर्नसिप नेपालमा गर्न नपाउने भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जहाँ अध्ययन गरेको हो सोही कलेजबाट इन्टर्नसिप पूरा गर्नुपर्ने जानकारी गराएको हो । 

बंगलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु केही समयअघि स्वदेश फर्किएका थिए । त्यसपछि उनीहरुले आफ्नो बाँकी इन्टर्नसिप कार्यक्रम नेपालमा नै पूरा गर्न पाउनेपर्ने माग राखेका थिए । यस सम्बन्धमा उनीहरुले यहाँ इन्टर्न गर्न पाउने वा नपाउने सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग जानकारी मागेका थिए  । 

जसअनुसार ढाकास्थित नेपाली दूतावासमार्फत बंगलादेश सरकारको सम्बन्धित निकायमा यसबारे समन्वय हुँदा पहिले पढेकै कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप गर्नुपर्ने भनी जवाफ आएको मन्त्रालयले जनाएको छ । 

‘मित्रराष्ट्र बंगलादेशस्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस, बीडीएस शैक्षिक कार्यक्रममा अध्ययन नेपाली विद्यार्थीहरु बंगलादेशमा सुरक्षाको असहज अवस्थाका कारण स्वदेश फर्किएको र निजहरुले आफ्नो बाँकी रहेको अवधिको इन्टर्नसिप कार्यक्रम नेपालमा नै पुरा गराउन सकिने, नसकिने सम्बन्धमा परराष्ट्र मन्त्रालयसमक्ष लेखी पठाइएकोमा ढाकास्थित नेपाली राजदूतावासमार्फत बंगलादेश सरकारको सम्बन्धित निकायमा समन्वय हुँदा बंगलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पुरा गर्नुपर्ने व्यहोरा उल्लेख गरी लेखी आएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’, मन्त्रालयले भनेको छ ।

टिप्पणीहरू