जीवन बीमा कम्पनीको सीईओ बन्न खोजेका सबै फेल

जीवन बीमा कम्पनीको सीईओ बन्न खोजेका सबै फेल
सुन्नुहोस्

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रो पटक विज्ञापन गरिएको छ । कम्पनीले पहिलोपटक दरखास्त आह्वान गर्दाका सबै उम्मेदवार अनुतीर्ण भएपछि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । 

यसअघि कम्पनीले गत असोज १६ गते प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि आवेदन माग गरेको थियो । तर, दरखास्त दिएका उम्मेदवारहरुले न्यूनतम अंक पनि प्राप्त गर्न नसकेको सीईओ नियुक्तिका लागि छनौट तथा सिफारिस समितिले जनाएको छ । 

समितिका अनुसार उम्मेदवारको शैक्षिक योग्यता, अनुभव र व्यवसायिक कार्ययोजना मूल्यांकनमा कुल पूर्णाङ्क ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्नेलाई प्रस्तुतीकरण र अन्तरवार्ताका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । 

यद्यपि, कुनै पनि उम्मेदवारले कुल पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्न नसकेको समितिको भनाइ छ । समितिद्वारा आज जारी सूचनामा न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका व्यक्तिलाई आगामी २१ दिनभित्र आवेदन पेश गर्न भनिएको छ । 

जसअनुरुप उम्मेदवारको योग्यता बीमा, व्यवस्थापनलगायत विभिन्न विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापन तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष र आर्थिक क्षेत्रमा भए आठ वर्षको अनुभव हुनुपर्ने छ । त्यस्तै, दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्छ ।
 

टिप्पणीहरू