व्यक्तिका बैंक खाता पनि असुरक्षित, ह्याक गरेर लाखौं रुपैयाँ निकालियो

अरुको बैंक खाता ह्याक गरेर रकम निकालेका आठ जनालाई प्रहरीले पक्रेको छ । ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो खाता ह्याक गरेर रकम निकालेको उजुरी हालेपछि प्रहरीले उक्त समूहको खोजी गर्ने क्रममा महिलासहित सात जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

ढकालको एनआईसी एशिया बैंकमा रहेको खाता ह्याक गरेर उनीहरुले चार लाख रुपैयाँ निकालेका हुन् । उक्त कार्यमा पर्साका अजय चौधरी, राजु पटेल,रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर,साहिल परवेज,दिनेश राउत,शिवशंकर राउत,सप्तरीका दिलिप चौधरी र भारत बिहारका अवधेश कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिध्दिविक्रम शाहले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनका अनुसार ती आठ जनाको साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटीएम कार्ड बरामद गरिएको छ । 

ती सबैलाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान थालिएको बताइएको छ ।

टिप्पणीहरू