पोखरामा विमान खस्नुको कारण ‘फ्युल सप्लाई’ ठप्प

पोखरामा विमान खस्नुको कारण ‘फ्युल सप्लाई’ ठप्प

इञ्जिनमा फ्युल सप्लाई हुन नसकेपछि पोखराको सेती नदी खोंचमा यती एअरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको प्रारम्भिक निश्कर्ष निकालिएको छ । माघ १ गते बिहान दुर्घटनाग्रस्त उक्त विमानको अनुसन्धानको प्रारम्भिक निष्कर्ष निकाल्ने क्रममा उडानमा छँदा इञ्जिनमा इन्धन नपुगेको प्राविधिक रिपोर्ट आएको बताइन्छ ।

यात्रु ६८ जना र चालक दलका चार सदस्यसहित ७२ जना बोकेर काठमाडौंबाट पोखरा उडेको यतीको जहाज नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभन्दा एक मीनेटअघि सेतीको खोंचमा दुर्घटनामा परेको हो । दुर्घटनामा विमानमा सवार सबैको निधन भएको थियो ।

दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स सिंगापुरमा परीक्षण गराएपछि टोली काठमाडौं फर्केको छ । ब्ल्याकबक्स र ककपिट भ्वाइस डाटा रेकर्डर बोकेर सिंगापुर गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र छानबिन आयोगका प्रतिनिधिहरु अस्ति फर्केका हुन् ।

सिंगापुरमा गरिएको डाटा एनालिसिस उल्लेख गर्दै स्रोतले भन्यो, ‘उडिरहेको विमानको पंखा एकाएक सोझो भएको पाइयो । विमानको पंखा ९० डिग्रीमा बसेको देखिएको छ । विमान उडेको समयमा ती पंखाको अवस्थिति छड्के हुनुपर्छ । सीधा हुनु भनेको  इञ्जिनबाट फ्युल सप्लाई नभएको अवस्था हो । फ्युल सप्लाइ नभएपछि आकाशमा उडिरहेको विमानको गति एकाएक कम हुन्छ ।

तोकिएको गतिमा आकाशमा विमान नउडेपछि भुईंमा खस्नुको विकल्प हुँदैन । पोखरामा भएको विमान दुर्घटनाको प्रारम्भिक प्राविधिक अनुसन्धान र डाटाले पनि सोही देखिएको स्रोतको भनाइ छ । स्रोतले उल्लेख गरेको छ, ‘सबै विवरण आइसकेको छैन, थप अध्ययन र अनुसन्धान भइरहेको छ ।’

ककपिट भ्वाइस रेकर्डरमा पाइलट कमल केसी र को–पाइलट अञ्जु खतिवडाबीच निरन्तर संवाद भएकोसमेत सुनिएको छ । प्रशिक्षक पाइलट केसीले खतिवडालाई उडानबारे विभिन्न विषयमा जानकारी गराइरहेको भ्वाइस रेकर्डरमा सुनिएको बताइएको छ । 

‘प्रशिक्षक पाइलट र को–पाइलटबीच कम्युनिकेशन भइरहेको सुनिन्छ । प्रशिक्षकले हावाको चाप, मौसम र डाँडाकाँडाबारे जानकारी गराइरहेका छन् । फेवाताल नजिक पुगेको भन्दै उनीहरुले कुरा पनि गरेका छन् । त्यसपछि उक्त अवस्था अकस्मात भएको देखिन्छ’, स्रोतले भन्यो । 

टोलीले सिंगापुरबाट ल्याएको विमान दुर्घटनाको प्राविधिक विवरणले इञ्जिनमा फ्युल सप्लाई नहुँदा र त्यसपछि पंखा तोकिएको अवस्थामा नरहँदा उक्त दुःखद् दुर्घटना भएको प्रारम्भिक निश्कर्ष निकालिएको हो । विमान दुर्घटना छानबिन गर्न गठित आयोगले थप जानकारी दिएको छैन । दुर्घटना प्राविधिक हो या मानवीय भन्नेबारे पनि यकिन भएको देखिँदैन ।

हालै उद्घाटन गरिएको नयाँ विमानस्थलमा धावनमार्गको पूर्व र पश्चिम दुवैतर्फबाट विमान उडान र अवतरण गर्न सकिने सुविधा छ । तर, अघिल्लो उडानमा विमानलाई पूर्वबाटै अवतरण गराएको चालक दलले प्रयोगको रुपमा पश्चिमको रुटबाट पनि प्रयास गरेको देखिन आएको हो । त्यसरी आकस्मिक रुपमा परिवर्तन गरिएको अवतरणको योजनामा विमानको उडान गति र उचाइले मेल नखाएपछि भयंकर दुर्घटना हुन पुगेको एकथरी विज्ञहरुको अनुमान छ ।

टिप्पणीहरू