भारतीयले लगाएको हेल्मेटभित्र १८ लाख नेपाली रुपैयाँ

भारतीयले लगाएको हेल्मेटभित्र १८ लाख नेपाली रुपैयाँ

मोटरसाइकलको हेल्मेटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा १८ लाख नेपाली रुपैयाँ फेला परेको छ । आज वीरगञ्जमा सशस्त्र प्रहरीले मोटरसाइकल, हेल्मेट र उक्त रकमसहित दुई जना भारतीयलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुमा भारत घर बताउने २६ वर्षका राकेश कुमार र २७ वर्षका प्रसंजित कुमार रहेको सशस्त्र प्रहरी बल नेपालको नम्बर १३ गण, पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बताए ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिका १६ स्थित वीरगञ्ज–रक्सौल सडकखण्डबाट पक्राउ गरेकोे हो । भातरीय नम्बर प्लेटको दुई वटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र नौ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र नौ लाख नेपाली रुपैयाँ राखिएको थियो ।

त्यसैगरी उनीहरुको साथबाट प्रतिबन्धित ५ सय दरका चार थान भारतीय रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ । भारतीय युवकले नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीको भनाइ छ ।

टिप्पणीहरू