विनोद चौधरीले यतिसम्म झुठ बोले
मुलुकका एकमात्र डलर अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरीले सामाजिक सञ्जालमा डेढ मीनेटको भिडियो अपलोड गरेका छन्, जसमा उनले युवाहरूको ढुकढुकीको रूपमा आफूलाई प्रस्तुत गर्दै सांसद जितिसकेपछि मुलुकलाई विकसित तुल्याउन राजनीति गरेको दाबी गरेका छन् । तर, नवलपरासीका जनताको भोटबाट विजयी भएका चौधरीले मतगणनालगत्तै नयाँ दिल्ली पुगेर गत मंसिर तेस्रो साता महँगो होटलमा भव्य भोज दिए । भोट दिने सर्वसाधारण नेपाली, निम्तो पाउने सबै भारतीय सम्भ्रान्त वर्ग ।
फेसबुकमा अपलोड गरिएको भिडियोमा उनले बोलेका छन्, ‘नेपालका बेरोजगार युवाले विनोद चौधरीलाई टोलाएर हेर्छन् । नेपालभित्रै हेडक्वार्टर रहेको बहुराष्ट्रिय कम्पनी (वाईवाई) खोलियो । त्यति गर्नसक्नेले हाम्रो लागि के गर्नुभयो ? ५० हजार नेपाली हरेक महिना मुलुक बाहिर गइरहेका छन् । उनीहरूले नबोली मलाई प्रश्न सोध्ने गरेका छन् । त्यसैले आज म राजनीतिमा छु । राजनीतिमा रियल स्टेक भएकाहरूको प्रवेश हुनैपर्छ । त्यस्ता मान्छेलाई झन् अगाडि बढ्ने बाटो बनाउनुपर्छ । मुलुकमा राजनीतिक कार्यकर्ता र व्यापारी (रिसोर्स म्यानेजर) बीच आपसी सहकार्य र सम्मान हुनुपर्छ । राष्ट्रलाई रूपान्तरण गर्नको निम्ति यो आवश्यक छ ।’
भिडियोमा बोलेका अरु विषयलाई थाती राखेर हेर्ने हो भने उनले वाइवाइ चाउचाउको मुख्य कारखाना, कपिराइट र कम्पनी नेपालमा रहनुका साथै अहिले नेपालको एक मात्र बहुराष्ट्रिय कम्पनी भएको दाबी गरेका छन् । ३८ वर्षअघि ललितपुरको सैंबुमा स्थापित उक्त कारखाना त्यतिबेला थाइल्याण्डको थाई प्रिजभ्ड फुड फ्याक्ट्री कम्पनी लिमिटेडको संयुक्त लगानीमा खुलेको हो । थाइल्याण्डमा वाइवाई चाउचाउ उत्पादन गर्ने सो कम्पनी २०२८ सालमा खुलेको थियो ।
थाई कम्पनी त्यहाँको नाकोर्नपाथोन प्रान्तको सम्प्रान जिल्लास्थित राइखिङ उपजिल्लामा अवस्थित छ । उक्त कम्पनीले विनोद चौधरीको सिजीलेझैँ वाइवाइ र क्विक तैयारी चाउचाउ उत्पादन गर्दै आएको छ । कम्पनीले सन् १९७८ अर्थात २०३५ सालदेखि वाइवाइको ट्रेडमार्क विश्वभरका लागि दर्ता भएको जनाएको छ । यता चौधरीको भनिएको वाइवाइ चाउचाउको ट्रेडमार्क पनि उस्तै छ । जुन थाई कम्पनीभन्दा १३ वर्षपछि स्थापना भएको हो । विश्वव्यापी ट्रेडमार्क अनुमति जारी भएपछि बल्ल ललितपुरमा वाइवाइको कारखाना स्थापना भएको थियो । तर, उनले आफूले नेपालमा छुट्टै वाइवाइ कारखाना खोलेर विश्वमा चेन फ्याक्ट्री अर्थात् बहुराष्ट्रिय कम्पनी बनाएको दाबी गरेका छन् ।
थाइल्याण्डको सो चाउचाउ धेरैजसो अमेरिका, क्यानाडा, अष्ट्रेलिया, जापान, हङकङ, मलेसिया, सिंगापुर, लाओस, म्यानमार र कम्बोडियामा निर्यात हुने गरेको छ । यदि चौधरीले उत्पादन गरेको वाइवाइको ट्रेडमार्क फरक थियो भने नेपाली उत्पादन बिक्री हुने अमेरिका, हङकङलगायत देशमा उहिल्यै कपिराइटको मुद्दा परिसक्थ्यो । त्यसैले सिजीले थाइल्याण्डको सोही कम्पनीको कपिराइट उतिबेलै लिएकाले नेपाली वाइवाई पनि उस्तै नाम, रंग र साइजमा अन्य मुलुकमा बिक्री हुन सकेको हो ।
यी सबै बेलिबिस्तार लगाउँदै चौधरी ग्रुपबाट अवकाशप्राप्त एक जना पुराना अधिकृतले भने, ‘थाइल्याण्डको वाइवाइलाई विभिन्न प्रलोभनमा यहाँ आफ्नो बनाइएको हो । शुरुमा यो थाई कम्पनीकै थियो । त्यतिबेला बैंकक गएका नेपालीले बाकसका बाकस वाइवाइ ल्याउँथे । त्यही बाकसलाई ध्यानमा राखेर उनी र त्यतिबेला मुलुकको सर्वोच्च निकायका प्रतिनिधिहरू थाइल्याण्ड गई साझेदारीमा काठमाडौंमा व्यापार शुरु गर्ने सहमति भएको हो । पछि अनेक व्यवधान देखाउँदै चौधरीले थाइलाई वञ्चित गराए ।
टिप्पणीहरू