पुल सञ्चालन भन्दै भारतद्वारा आवागमन बन्द

पुल सञ्चालन भन्दै भारतद्वारा आवागमन बन्द

महाकाली नदीमा निर्माण गरिएका नेपाल–भारत जोड्ने दुइटा पुलहरूमा आवागमन गर्न भारतको सशस्त्र सीमा बल (एसएसबी)ले रोक लगाएको छ । स्थानीय प्रशासनबाट पुल सञ्चालनको लिखित स्वीकृति आएपछि मात्रै पुलबाट आवागमन गर्न दिइने भन्दै सोमबारदेखि एसएसबीले पुल बन्द गरिदिएको हो । 

व्यास गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नम्बर ४ सुन्सेरा गाउँ जोड्ने मलघट्टे पुल र वडा नम्बर २ को माल गाउँ जोड्ने झोलुंगेपुलमा एसएसबीले आवागमन बन्द गराएको गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । एसएसबीको रोकपछि व्यास गाउँपालिकाभरीका जनतालाई आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो । वैशाखमै दुबै ठाउँमा पुल निर्माण सम्पन्न भएको थियो । नेपाल सरकारको सस्पेन्सन पुल डिभिजनले ठेक्का प्रक्रियामार्फत महाकाली नदीमा नेपाल–भारत जोड्ने चारवटा झोलुंगे पुलको निर्माण कार्य २०७६ सालमा थालेको हो । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाकु र व्यास गाउँपालिकाको वडा नम्बर ६ बडुगाउँमा गत जेठ महिनामा झोलुंगे पुल उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । बाकु र बडुगाउँसंगै मलघट्टे र माल गाउँ जोड्ने पुल पनि वैशाख–जेठमै निर्माण सम्पन्न गरिएका थिए । तर, नेपाल र भारत दुबैतर्फ पुलको सुरक्षामा खटिने सुरक्षाकर्मीको पोष्ट निर्माण नभएको भन्दै दुबै पुल उद्घाटन गरिएको थिएन । 

पुल निर्माण गर्ने ठेकेदारमार्फत नै सुरक्षा पोष्ट पनि निर्माण गरिएको छ । भदौमा दुबैतर्फ सुरक्षा पोष्ट निर्माण सम्पन्न भइसके पनि पुल उद्घाटन नभएको भन्दै एसएसबीले आवागमन बन्द गराएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । पुल निर्माण भएदेखि नै त्यसक्षेत्रका स्थानीयले आवतजावत गर्दैआएका थिए । ‘तर, दुबैतर्फको स्थानीय प्रशासनबाट पुल सञ्चालनको लिखित अनुमति आएपछि मात्रै पुल सञ्चालन हुने भन्दै एसएसबीले सोमबारदेखि दुबै पुल बन्द गराएको छ’ गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भन्नुभयो । 

एसएसबीको अवरोधले दुबै पुल बन्द भएपछि तत्काल पुल सञ्चालनको समन्वय र पहल गर्न स्थानीय प्रशासनलाई गाउँपालिकाबाट लिखित अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाबाट लिखित अनुरोध आएपछि पुल सञ्चालनबारे भारतीय पक्ष र सस्पेन्सन ब्रिज डिभिजनसँग सम्पर्क भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउँनुभयो । अहिलेसम्म व्यावहारिक रूपमा पुलबाट आवतजावत भइरहेकोमा एसएसबीले पुल सञ्चालनका लागि दुबैतर्फका स्थानीय प्रशासनको लिखित स्वीकृति मागेको सशस्त्र प्रहरी बल ४४ नम्बर गणका गणपति एसपी डम्बरबहादुर बिष्टले बताउँनुभयो । 

महाकाली नदीमा तुइनको जोखिमपूर्ण यात्रा हटाउन २०७६ सालमा झोलुंगे पुल निर्माणको ठेक्का लगाइएको थियो । एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलहरू चार वर्षसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । डेढ वर्षअघि २०७८ साउन १५ मा व्यास गाउँपालिका वडा नम्बर २ को मालघाटमा तुइन तर्नेक्रममा स्थानीय जयसिंह धामी बेपत्ता भएका थिए । जयसिंहको घटना भएको स्थानमै एक वर्षअघि झोलुंगेपुल निर्माणको ठेक्का भई काम अधुरो रहेको थियो । जयसिंह धामी बेपत्ता भएको डेढ वर्षपछि पनि माल गाउँ जोड्ने पुल सञ्चालनमा आउन सकेको छैन । एसएसबीले गत भदौमा पनि मलघट्टे र मालगाउँको पुलमा एक हप्तासम्म आवागमन बन्द गराएको थियो । तत्कालिन समयमा स्थानीय प्रशासन र सुरक्षा निकायहरूले समन्वय गरी स्थानीयको आवागमन सुचारु गराएका थिए । 

एसएसबीले स्थानीय प्रशासनको लिखित स्वीकृति आएपछि मात्रै पुल सञ्चालन गरिने जनाएको छ । ‘पुल सञ्चालनका लागि औपचारिक प्रक्रिया पूरा गराउनु जायज भए पनि त्यही वहानामा स्थानीयको आवतजावत नै रोकिनु दुःखद भएको’ व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा कार्यरत स्थानीय पत्रकार वीरादत्त भट्टले बताउनुभयो । एसएसबीले पुलबाट आवतजावत गर्न नदिएपछि स्थानीय वासिन्दाले मलघट्टे, वर्तिघाट, डोकट, मालघाटलगायत क्षेत्रमा तुइनमार्फत आवतजावत गर्नुपरेको व्यास गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउँनुभयो । 

टिप्पणीहरू