बेनी–जोमसोम सडकखण्ड दिनहुँ साढे ६ घण्टा बन्द

बेनी–जोमसोम सडकखण्ड दिनहुँ साढे ६ घण्टा बन्द

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङसम्म पुग्ने बेनी–जोमसोम सडकखण्ड भोलिदेखि दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ । सवारी आवतजावतबीच सडक स्तरोन्नतिको काम प्रभावित भएपछि सरोकारवालाहरुको छलफलले समय तोकेर ६ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ ।  

त्यसका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुनेगरी समय तालिका बनाएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनी–जोमसोम–कोरला सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सुरक्षा निकायका प्रतिनिधिको समन्वयमा सडक खुल्ने र बन्द हुने समय तालिका निर्धारण गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माका अनुसार फागुन १ गतेदेखि १५ गतेसम्म बिहान ६ देखि ८, दिउँसो साढे ११ बजेदेखि साढे १ बजेसम्म र राति साढे ८ बजेदेखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिनेछ । तर एम्बुलेसनलगायत अत्यावश्यक सवारीसाधनलाई सहज आवतजावत गर्न र साना सवारीलाई आउजाउ गर्न डल्लेपिफ–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने छ । 

सडक विस्तार र यातायात सञ्चालनसँगै हुँदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माण कार्य प्रभावति बनेपछि उक्त समय तालिका बनाएको शर्माले बताए । 

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले दुई किलोमिटर १०२ मिटर दूरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मंगलादेवी–सुवास जेभीसँग १२ करोड २५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीका अनसार सम्झौतालगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने काम भैरहेको छ । 

दुई वर्षको अवधिमा सडकलाई ११ मीटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पखाल र खोल्सामा कल्र्भट तथा ८ मिटर चौडाइमा कालोपत्र गरिनेछ । साथै, उक्त कामका लागि ८५ जना मजदुर र तीनवटा डोजर परिचालन गरिएको छ । 

बेनी नगरपालिकाको ८, ६ र ९ नम्बर वडाको भूगोल समेटिएको तीन किलोमिटर दूरीको सो सडक वि.सं. २०५३ मा मार्ग खुलेको थियो । यो म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदैँ मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दु हो । 

यो सडक म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकले प्रयोग गर्दछन् । तर, चारदेखि ६ मिटर मात्र फराकिलो रहेकाले यस सडकको धेरै ठाउँमा ठूला गाडी दुईतर्फी आवतजावत नहुने, फस्ने र जाम हुने गर्दछ ।

टिप्पणीहरू