२०८० लाई भव्य बनाउँँदै, भरतपुरले भ्रमण वर्ष मनाउँदै
सम्पत्ति त अथाह छ । त्यसको पहिचान, व्यवस्थापन र समुचित परिचालन गर्न नसकेर पछि पर्यौं हामी । प्राकृतिक सम्पदामा विश्वकै धनी भएर पनि नेपाल र नेपाली सधैं गरिब हुनुपर्ने ? विश्वमै आर्थिक समृद्धिको महत्वपूर्ण हिस्सा बनिरहेको पर्यटनका लागि प्रकृतिको वरदानको रुपमा प्राकृतिक ठाउँहरु नै हामीकहाँ यथेष्ट हुँदाहुँदै तिनको संरक्षण, संवर्धन र सदुपयोग पर्याप्त नहुनु हाम्रै कमजोरी हो । पछिल्लो समय प्राकृतिक स्रोत–साधनहरुको उपयोगमा ध्यान दिँदै स्थानीय सरकारहरु पर्यटन प्रवर्धनमा जोडतोडकासाथ लागिपरेको अवस्थामा हामी सबैले होस्टेमा हैंसे गर्नुपर्ने महत्वपूर्ण अभिभारा छ ।
सन् २०२० लाई नेपाल सरकारले नै भ्रमण वर्षका रुपमा मनाउन लाग्दा कोरोना महामारीले बिथोल्यो । कोभिडले सबैभन्दा नराम्ररी थलिएको पर्यटन क्षेत्रले अहिले बिस्तारै टाउको उठाउन लागिरहेको अवस्थामा पर्यटन व्यवसायलाई अझ माथि उकास्न चितवनको भरतपुर महानगरपालिकाले पर्यटन वर्ष मनाउन लागेको छ । आगामी वर्ष २०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको भरतपुर महानगरपालिकाले जनाएको छ । यसका लागि महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा मूल समिति र उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा कार्यकारी समिति गठन गरिसकिएको छ । अरु थुप्रै सहायक समिति, उपसमितिहरु बनाउनैछ ।
यसै सन्दर्भमा अस्ति भरतपुर महानगरपालिकाको सभाहलमा यहाँका पर्यटन व्यवसायी, पर्यटन सम्बद्ध संघ–संस्था तथा निजी क्षेत्रका प्रतिनिधि लगायत सरोकारवालाहरुबीच छलफल कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्धन गरी स्थानीयसम्म त्यसको प्रतिफल पुर्याउने उद्देश्य रहेको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा. विश्व सुवेदीले बताए । २०८० का लागि भ्रमण वर्षको नारा तय भइसकेको छैन । भ्रमण वर्षलाई भव्य बनाउन के–के गर्ने ? पर्यटकीय गन्तव्यहरुको थप सजावट र व्यवस्थापन, पर्यटकहरुको आतिथ्यता कसरी मिलाउने ? कहाँ–कहाँ कस्ता–कस्ता गतिविधि अनि छुट र प्याकेजका कार्यक्रमहरु सञ्चालन गर्ने ? भ्रमण वर्षका लागि महत्वपूर्ण इभेन्टहरु के–के हुन सक्छन् ? यसमा कुन–कुन क्षेत्र र अन्य कस्ता–कस्ता गतिविधिलाई समेट्न सकिन्छ ? आदि इत्यादि विषयमा राय, सल्लाह अनि सुझाव संकलनका लागि सरोकारवालाहरुमाझ अस्ति पहिलो चरणको छलफल गरिएको थियो ।
‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भनेझैं कुनै पनि कुरालाई अगाडि ल्याउन र त्यसलाई बिकाउन प्रचारप्रसारको अहम् भूमिका हुन्छ । भ्रमण वर्षलाई पनि सफल र सार्थक बनाउन मुख्य कुरा प्रचारप्रसारलाई नै व्यापक बनाउनुपर्नेमा सहभागीहरुले जोड दिए । गुगलमा भरतपुरको पर्यटकीय क्षेत्र नै नभेटिने, पर्यटन बोर्डको वेबसाइटमा पनि भरतपुर, चितवनको केही नदेखिने भन्दै पत्रकार कोमलचन्द्र भगतले अब तत्काल अनलाइन मार्केटिङमा जानुपर्ने आवश्यकता औंल्याए । भ्रमण वर्षका लागि भरतपुर महानगरपालिकाले एउटा जीमेल त बनाएको छ । पर्यटनसँग सम्बन्धित वेबसाइट पनि डिजाइन गरेर सञ्चालनमा ल्याउनुपर्ने पटिहानीका पर्यटनकर्मी अपिल घिमिरेले बताए । सबैजना मोबाइलमै घोप्टो पर्ने अहिलेको जमानामा प्रचारलाई सामाजिक सञ्जालमा विशेष प्राथमिकता दिनुपर्ने सरोकारवाला बताउँछन् । प्रचारप्रसार नै मुख्य आधार भएको भन्दै व्यवसायी दिनेशकुमार चुकेले भने, ‘छुटको प्याकेज दिन हामी होटल व्यवसायीहरु तयार छौं ।’
रेवान चितवनका अध्यक्ष अच्युतराज भट्ट भन्छन्, ‘सात बजेपछि भरतपुरमा नाइट लाइफ नै छैन । यहाँ आउने पर्यटकहरुलाई चौबीसै घन्टा दिने सेवा के त ? दिनभरि डुल, सात बजेपछि होटलमा गएर सुत भन्ने हो ? पर्यटकहरु एकदिन आएपनि चौबीसै घन्टा रमाउन सक्ने वातावरण होस् न ’ यहाँ त रातिका बेला सवारी साधन पनि पाइँदैन’, उनले भने । यता, सार्वजनिक सवारी साधनहरुमा मनलाग्दी भाडा असुल्ने, यात्रुहरुलाई तानातान गर्ने अनि सानो गाडीमा पनि कोचाकोच गरेर धेरै मान्छे बोक्ने प्रवृत्ति छ । यसको अन्त्य गरी भरतपुरमा सटल बस/स्मार्ट बसहरु सञ्चालनमा ल्याइनुपर्नेमा पनि वक्ताहरुको जोड रह्यो ।
अहिलेसम्म सौराहासँग भरतपुरको खासै लिंकेज हुन नसक्नु दुर्भाग्य भएको भन्दै पर्यटनमा भरतपुरलाई मौलाकालिकासँग पनि जोड्न सकिने चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले बताए । जगतपुरमा भक्तजनहरुको ठूलो भीड लाग्ने विक्रम बाबा मेलाको अवसर पारी भरतपुर भ्रमण वर्षको उद्घाटन गर्न उपयुक्त हुने पटिहानीका अपिलको सुझाव रह्यो ।
भर्खरै सम्पन्न चितवन महोत्सवमा पनि पर्यटन प्रवर्धनलाई नै मुख्य जोड दिइएको थियो । कृषिका लागि चितवन, स्वास्थ्यका लागि चितवन, शिक्षाका लागि चितवन, उद्योगका लागि चितवन, बसोबास र घुमघामका लागि चितवन’ भन्ने नारा नै अघि सारेर यहाँको पर्यटन प्रवर्धनमा हामी लागिपरेका छौं’, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भने, ‘भ्रमण वर्षलाई सफल बनाउन पनि निजी क्षेत्रको तर्फबाट गर्नुपर्ने कामकुरामा हामी तत्पर छौं ।’
भरतपुरले जहिले पनि निजीक्षेत्रसँग समन्वय, सहकार्य गरेर काम गर्ने सुन्दर पक्ष रहेको र निजी क्षेत्रसित मिलेर गरिएका कामहरु सफल पनि भएको चितवन उद्योग संघका पूर्वअध्यक्ष राजु पौडेल बताउँछन् । भरतपुरमा पर्यटकीय गन्तव्य र पूर्वाधारहरुको विकास भएको अवस्थामा अब सौन्दर्यकरणमा लाग्नुपर्ने उनले बताए ।
भरतपुरमा देभभरिका मानिसहरुको बसोबास छ । यहाँ थुप्रै जातजाति र भाषाभाषीहरुको विविधता पनि छ । यस्तै, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्थलहरु, कला, साहित्य अनि मानव निर्मित संरचनाहरु पनि मनमोहक छन् । भरतपुरमा मेघौली, पटिहानी, देवघाट, बीसहजारी ताल, ज्ञानेश्वर ब्लक, नारायणी रिभर बिच, चौकीडाँडा, जगतपुर, राइनो कुञ्ज, बाटुली पोखरी, कसरा, गोलाघाट, बागेश्वरी, गणेशधाम, बीपी शान्ति नगरवन, गाजीपुर, सिमरी टाउन, महाबौद्ध गुम्बा, राइनो ताल, धनगढा मन्दिर, चितवन प्रदर्शनी केन्द्र, बखान सहकारी, रानी पोखरी, देवीस्थान पार्क, दियालो बंगला, शिवालय नगर पार्क लगायतका आकर्षक पर्यटकीय गन्तव्यहरु रहेका छन्
भ्रमण वर्षलाई सफल बनाउन प्रत्येक वडामा पर्यटकीय समिति बनाएर अगाडि बढ्नुपर्ने ज्ञानेश्वर सामुदायिक वन समितिका निवर्तमान अध्यक्ष राजन अधिकारी बताउँछन् । भरतपुर महानगरपालिकामा टोल विकास संस्थामात्रै ६४१ वटा रहेको र अन्य संघ–संस्था अनि स्थानीयलाई पनि सहभागी गराइने बताउँदै भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी भन्छन्, ‘यो हामी सबैको साझा काम हो । सबैजना मिलेर यसलाई सार्थक र परिणाममुखी बनाऔं । अब दुई महिना बाँकी छ । त्यसअघि फेरि बृहत छलफल हुने नै छ । महत्वपूर्ण सुझावहरुलाई समेटेर अगाडि बढ्नेछौं ।’ भरतपुर महानगरपालिकाले पर्यटन प्रवर्धनलाई आफ्नो मूल ध्येय बनाएको र भरतपुरलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरी राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न लागिएको भन्दै उपमेयर अधिकारीले हातेमालो गर्न महानगरवासी सम्पूर्णलाई आग्रह गरेका हुन् ।
टिप्पणीहरू