गर्न थालियो गरिवको पहिचान
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले गरिब परिचयपत्र वितरण गर्न थालेको छ । गाउँपालिकाले आफ्नो गाउँभित्र बसोबास गर्ने स्थानीय बासिन्दामध्ये कति गरिबीको रेखामुनि पर्छन् भनेर पत्ता लगाउन गरिबको तथ्याङ्क संकलन गरी उक्त परिचयपत्र वितरण गरेको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले पालिकाका आठ वटै वडामा गरिब परिचयपत्र वितरण गरिने बताए । उनले पालिकाभित्र बसोबास गर्नेमध्ये कति गरिबीको रेखामुनि पर्छन् ? भनेर पत्ता लगाई त्यसैअनुरुप उनीहरुको व्यवस्थापन गर्न वा सहयोग उपलब्ध गराउन गरिब परिचयपत्र वितरण गर्न थालिएको जानकारी गराए ।
उनका अनुसार हालसम्म चार सय जनाको परिवार गरिबीको रेखामुनि परेका छन् । जसमा एक सय एक परिवार अति गरिब, एक सय ५५ परिवार मध्यम गरिब र एक सय ४४ परिवार सामान्य गरिब परिवारका रुपमा पहिचान भएका छन् ।
त्यस्तै, गाउँपालिकाले अति गरिब परिवारलाई रातो, मध्यमलाई पहेँलो र सामान्यलाई निलो रङको परिचयपत्र वितरण गरेको छ । अधिकृत पोखरेलले पालिकाको वडानं. ४ तेल्लोकका गरिब पहिचान भएका घर परिवारलाई पहिलो चरणमा परिचयपत्र वितरण गरेको जनाए । तेल्लोकपछि बाँकी ७ वटा वडाहरुमा क्रमशः परिचयपत्र वितरण गरिने उनको भनाई छ । हाल परिचयपत्रमा फोटो टाँस्ने काम भइरहेको हुँदा उक्त काम समाप्त हुनेबित्तिकै सबै वडामा परिचयपत्र वितरण गरिने उनले जनाए ।
गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ अनुसार गरिब भन्नाले नेपाल सरकारको निश्चित मापदण्डअनुसार समयसमयमा तोकेको राष्ट्रिय वा क्षेत्रगत गरिबीको रेखामुनि रहेको, शिक्षा स्वास्थ्यलगायत मानव विकास सूचकको आधारमा पिछडिएको र निश्चित लिङ्गत तथा सामाजिक समूहका आधारमा राष्ट्रिय विकास प्रक्रियामा समावेश हुन नसकेका व्यक्ति वा समूहलाई जनाउँछ ।
टिप्पणीहरू