नयाँ बसपार्कमा यातायात मजदूर र प्रहरीबीच भिडन्त, हवाई फायर

आफ्ना माग पूरा हुनुपर्ने माग राख्दै आएका यातायात मजदूरहरु र प्रहरीबीच नयाँ बसपार्क क्षेत्रमा भिडन्त भएको छ । दिउँसो २ बजेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) खारेजीको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

मजदुरहरुका केन्द्रीय अध्यक्ष दिपक केसीलगायत झण्डै चार सय जनाले गरेको प्रदर्शन र कोणसभाले सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । नयाँ बसपार्क क्षेत्रमा उपत्यका बाहिर जाने र भित्रिने ठूला बसका साथै अन्य सवारी साधनको चाप बढेपछि प्रहरीले अवरुद्ध सडक खोल्न खोज्दा प्रदर्शनकारीले अवरोध पुर्याएको प्रहरीको भनाइ छ ।

‘सडक खुलाउने क्रममा हामीमाथि ढुङ्गामुढा गरियो,’ प्रहरीले भनेको छ । अवस्था तनावग्रस्त हुँदै गर्दा अहिले हवाई फायर भएको छ । पाँच पटक कारवाहीमा परेपछि सवारी चालकको लाइसेन्स खारेज हुने नयाँ व्यवस्था ल्याएपछि उनीहरु रुष्ट भएका हुन् ।

टिप्पणीहरू