अनि पर्यटन मन्त्रालय छाड्यो राप्रपाले
‘भ्रष्टाचार गर्नु आमाको रगत खानुबराबर हो’ भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धवल समशेरलाई पाखा लगाउँदै विक्रम पाण्डेलाई अघि सारेपछि कसको रगत खाँदै छन् भन्ने प्रश्न पार्टीभित्र उब्जिएको छ । स्रोतका अनुसार सरकार गठनको बेला मन्त्रालय भागबण्डा लगाउँदा पर्यटन तथा संस्कृति मन्त्रालय परेको र धवलसमशेर राणालाई त्यहाँको जिम्मेवारी दिने भनिएको थियो ।
होटल व्यवसायी र पर्यटन क्षेत्रसँग जोडिँदै आएकाले सो तयारी भएको हो । अहिले पनि राणाले नेपालगञ्जमा बाटिका होटल सञ्चालन गर्दै आएका छन् । राणा एकैछिन रिसाए पनि लामो समयसम्म रिसराग नराख्ने, शत्रुसँग पनि प्रतिशोधको ताकमा नबस्ने स्वभाव भएकाले अध्यक्ष लिङ्देनले भाउ नदिइकन विक्रम पाण्डेलाई काखी च्यापेर सहरी विकानुन मन्त्रालय साँटफेर गरेको स्रोतको दाबी छ ।
निर्माण व्यवसायीसमेत रहेका विक्रम पाण्डेले अध्यक्ष लिङ्देनलाई प्रभावमा लिएपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भागमा परेको मन्त्रालय साँटफेर गरिएको बताइन्छ । पाण्डेलाई मन्त्री बनाएवापत ५ करोड रूपैयाँ पार्टी सुढृढिकरणका लागि चन्दासमेत दिइएको गाइँगुइँ चलेको छ ।
पाण्डेले मन्त्री भएलगत्तै आफ्नो कतिपय ठेक्कापट्टामा समयावधि पर्याप्त नभएको भन्दै थप्ने काम गरेका छन् । पाण्डेले मन्त्रीका लागि मरिहत्ते गर्नुपर्ने खास कारण भने ठेक्कापट्टामा भएका अनियमिततालाई छुपाउने, कर्मचारीलाई प्रभावमा पार्दै मुद्दामामिलाबाट जोगिने रहेको स्रोतको भनाइ छ ।
टिप्पणीहरू