भारतले ४ सय ७० वटा विमान किन्ने, एअरबसभन्दा बोइङसँग ३० वटा कम

भारतले ४ सय ७० वटा विमान किन्ने, एअरबसभन्दा बोइङसँग ३० वटा कम

एयर इण्डियाले ४७० वटा विमान किन्ने भएको छ । विमान सेवा विस्तार योजना पूरा गर्न एयर इण्डियाले एयर बससँग २५० विमान खरिद गर्न लागेको हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग गरेको भिडियो कुराकानीमा विमान खरिदको सम्झौता पत्रमा हस्ताक्षर गर्ने घोषणा गरेका हुन् । यसले भारत र फ्रान्सको सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गर्दै प्रधानमन्त्री मोदीले उक्त निर्णय भारतीय नागरिक उड्डयन उद्योगको सफलताको संकेत भएको बताएका छन् । 

एयर इण्डिया र एयर बसबीचको सम्झौता इन्डो–फ्रान्सेली रणनीतिक साझेदारीको लागि महत्वपूर्ण कोसेढुंगा भएको उनको भनाइ छ । ‘फ्रान्स–भारत साझेदारीले अन्तर्राष्ट्रिय व्यवस्था र बहुपक्षीय प्रणालीमा स्थिरता र सन्तुलन सुनिश्चित गर्न प्रत्यक्ष भूमिका खेलिरहेको छ’, प्रधानमन्त्री मोदीले भने । 

प्रधानमन्त्री मोदीले भारत छिट्टै विश्वको उड्यन क्षेत्रमा तेस्रो ठूलो बजार बन्ने घोषणा गरेका छन् । एयर इण्डियाले २५० विमानमध्ये २१० वटा ए३२० नियोस र ४० वाइडबडी ए३५० एस खरिद गर्ने जनाइएको छ । 

प्रधानमन्त्रीको भिडियो कुराकानीमा भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धिया, एयरबसका सीइओ गुइलाउम फौरी, एयर इण्डियाका सीएमडी क्याम्पबेल विल्सन, टाटा ट्रष्टका अध्यक्ष रतन टाटा र टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरणलगायतको उपस्थिति थियो ।

यसैबीच भारतले अमेरिकाको बोइङ कम्पनीका पनि २ सय २० वटा विमान खरिद गर्ने घोषणा गरेको छ । भारतले बोइङको ७८७ एस विमान २० वटा, ७७७–९एस १० वटा र १९० वटा बोइङ ७३७ म्याक्स विमान खरिद गर्ने योजना पनि आजै सार्वजनिक गरेको छ ।

टिप्पणीहरू