हजका लागि कोटा आयो, पैसा तिरेर निवेदन दिन आवेदन आह्वान

हजका लागि कोटा आयो, पैसा तिरेर निवेदन दिन आवेदन आह्वान

नेपाल हज समितिले हज यात्राका लागि जान चाहने इस्लाम धर्मावलम्बीहरुका लागि आवेदन आह्वान गरेको छ । आगामी चैत्र ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन समितिले आग्रह गरेको हो ।

आज सूचना प्रकाशित गर्दै समितिले सन् २०२३ का लागि नेपालबाट १२ सय जना इस्लाम धर्मावलम्बीहरुले हज यात्रा गर्न सक्नेगरी साउदी अरब सरकारबाट कोटा निर्धारण भएको जनाएको छ । त्यसैले, उक्त कोटामा हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरुले नेपाल हज समितिको सचिवालयको बेव साइटमा रहेको हज आवेदन डाउनलोड गरी आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ता बापत दुई लाख २५ हजार बुझाई चैत्र ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन अनुरोध गरिएको छ ।

निवेदकले आवेदनका साथ नेपाली नागरिकता प्रमाणपत्र र राहदानीको फोटोकपी, रकम बुझाएको भौचर, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र र बैंक खाताको चेकको फोटोकपी बुझाउनुपर्ने जनाएको छ । 

साथै, थप जानकारीका लागि नेपाल हज समितिको सचिवालय, सिहंदरबारमा सम्पर्क गर्न सकिने पनि जानकारी गराइएको छ ।

टिप्पणीहरू