सामान्य प्रशासनका दुई दर्जन उपसचिव राजधानी बाहिर
सरकारले दुई दर्जन बढी उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका २८ जनालाई विभिन्न ठाउँमा सरुवा गरेको हो ।
मन्त्रालयको हिजोको बैठकले २५ जना उपसचिवलाई स्थानीय तह र अन्यलाई विभिन्न निकायमा खटाउने निर्णय गरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार भोला खड्कालाई बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपसचिव बनाएर पठाइएको छ । सुरजप्रसाद शर्मा पौडेल गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।
त्यस्तै, राजबहादुर तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका छन् भने बाँकी सबैलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।
महोत्तरीको औराही नगरपालिकामा दिनेश त्रिपाठी, सिरहाको कर्जन्हा नगरपालिकामा हरिकृष्ण फुँयाल, बाराको कोल्हवी नगरपालिकामा संजयकुमार पोखरेल, रौतहटको गढीमाई नगरपालिकामा राजकुमार अधिकारी, गजुरा नगरपालिकामा अशोककुमार महर्जन, गौर नगरपालिकामा मोहनकुमार घिमिरे सरुवा भएका छन् ।
त्यस्तै, धनुषाको गौशाला नगरपालिकामा पूर्णबहादुर केसी, सुर्खेतको गुर्भाकोट नगरपालिकामा पदमप्रसाद बजगाईं, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा जग्दिशचन्द्र नेपाली, पर्साको पर्सागढी नगरपालिकामा छविरमण भट्टराई, सप्तरीको सप्तकोशी नगरपालिकामा भूमिश्वर ढकाल प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।
टिप्पणीहरू