माल्दिभ्सका जर्नेल पनि काठमाडौं आइपुगे
माल्दिभ्सको सेनाका एक जना जर्नेल आज काठमाडौं आइपुगेका छन् । जर्नेल अहमद इशान भारतको राजधानी नयाँ दिल्लीबाट इण्डिगो एअरको उडान नम्बर ६इ०४५ मा बिहान पौने १० बजे काठमाडौं विमानस्थलमा उत्रिएका हुन् ।
नेपाली सेनाले भोलि आयोजना गर्ने २६० औं सेना दिवसमा सहभागी हुन जर्नेल इशान अर्का एक जना सैनिक अधिकृतसहित काठमाडौं आएको जनाइएको छ । नेपाली सेनाले सेना दिवसको अवसरमा युथ एक्सचेञ्ज प्रोग्राममा सहभागी हुन माल्दिभ्सको राष्ट्रिय सेवा दललाई पनि आमन्त्रण गरेको छ । सोही निम्तोमा उक्त दलका महानिर्देशक तथा सेनाका जर्नेल अहमद काठमाडौं आएका हुन् ।
यसअघि माल्दिभ्सबाट नौ जनाको टोली अस्ति आएको थियो । सेना दिवसको विशेष कार्यक्रममा सहभागी हुन माल्दिभ्सको सेवा दलको नौ जनाको टोली पनि नयाँ दिल्ली हुँदै आएको थियो ।
नेपाली सेनाको निमन्त्रणमा भारतीय सेनाका पूर्व अध्यक्षहरु आज बिहान काठमाडौं आइपुगिसकेका छन् । नेपालका मानार्थ सेनापतिसमेत रहेका पूर्व सेनाध्यक्षहरु विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दिपक कुमार र दलवीर सिंह सुहाग परिवारका सदस्यसहित काठमाडौं आएका हुन् । उनीहरु सबैको भारतीय दूतावासभित्रै बस्ने प्रबन्ध मिलाइएको छ ।
टिप्पणीहरू