सडकमा व्यवसायीहरुको नारा ‘बैंकिङ आतङ्क रोक’
नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैैंकहरुविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘बैंकिङ आतङ्क’ रोक्न माग गर्दै विरोध र्याली निकालेका हुन् । ‘सम्पूर्ण उद्योगी व्यवसायी एक हौं’ भन्ने नाराका साथ राजधानीको माइतीघर मण्डलामा व्यवसायीरुले जुलुस निकालेको बताइएको छ ।
नयाँ बानेश्वर व्यापार व्यवसायी संघसहित नौ वटा व्यवसायिक महासंघ र ५० वटा संघसंस्थाको संयुक्त आयोजनामा व्यवसायीप्रति सरकारको विभेद तथा वित्तीय संस्थाहरुको आतंकविरुद्ध आन्दोलन थालिएको उनीहरुको भनाइ छ ।
महासंघका अध्यक्ष कुमार कार्कीको नेतृत्वमा भएको प्रदर्शनमा नयाँ बानेश्वर व्यापार संघका अध्यक्ष नवीन लुइँटेल, ललितपुर तयारी पोशाक व्यापार महासंघका अध्यक्ष मिलन श्रेष्ठ, बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघका अध्यक्ष शेखरचन्द्र राईलगायतको सहभागिता छ ।
त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौला, ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनाल, नेपाल–कपडा तथा सिलाई संघका अध्यक्ष राजीव कार्की, नेपाल मोबाइल व्यवसायी संघका पदाधिकारीलगायत सयौंको उपस्थिति रहेको छ ।
माइतीघरबाट निस्किएको टोलीले बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वरस्थित एभरेष्ट होटल पुगेर कोणसभा गरेको छ ।
प्रदर्शनकारीहरुले ‘बैकिङ्ग ब्याजदरमा एकरुपता कायम गर’, ‘अवस्था सामान्य नहुञ्जेल धितो लिलाम बन्द गर’, ‘कर्जा सेवाशुल्क ०.२५ प्रतिशतभित्र कायम गर’, ‘ब्याज प्रिमियम दर बढीमा २ प्रतिशत कायम गर’, ‘बैंकिङ्ग सिण्डिकेट बन्द गर’, लगायत नारा लगाएका छन् ।
टिप्पणीहरू