ओली, प्रचण्ड र देउवाहरूलाई सत्यवती पठाऔँ

ओली, प्रचण्ड र देउवाहरूलाई सत्यवती पठाऔँ

— गोविन्द भट्टराई

नेपालको शासनसत्ता भारतको इशारामा चल्ने गर्छ अर्थात् राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कोकोहोलो मोदी एण्ड सरकारको संकेत भनेर एमालेबृत्तले बुझेको छ ।  चीन र अमेरिकाले चाहेर मात्र हुँदैन भारतीय शासकको इच्छाबेगर क्याबिनेटबाट निर्णय पास विरलै हुने गरेको दृष्टान्त खोज्न दुःख छैन । सोझा नेपाली नागरिकसँग कुटिल र बेइमानी शैलीमा प्रस्तुत हुने ओली, प्रचण्ड, देउवा मार्का नेतालाई तह लगाउन पाल्पा, तिनाउ गाउँपालिकास्थित सत्यवती बज्यैको सम्मुख उपस्थित गराउनुपर्ने भयो । कारण बज्यैका सामु मनको कुरा मुखले उच्चारण नगरी धरै पाउँदैनन् भक्तहरू । यतिबेला ओली आशीर्वाद प्रचण्डलाई अभिशापजस्तै भएको छ । लामो पिरतीको छोटो आयु भनेझँै शंकर रावलको सुदूरपश्चिम सरकार ढलेपछि अन्य प्रदेश र केन्द्र सरकारकै अवस्थाबारे शंकाको तुवाँलो फैलिएको छ ।

प्रसंग मोडौँ, म (पंक्तिकार) १० वर्षको उमेरमा सत्यवती बज्यैको आँगनमा मेला हेर्न गएको, रातभर जंगलमा बसेर बिहान भुकभुके अँध्यारोमा तालकिनार बेलुका गाडेको सालको लिंगोछेउ बोका बलि दिई फर्किएको घटना सुनाएदेखि मेरो १२ वर्षे छोरालाई बज्यै भेट्न रहर लागेको थियो । हामीले बलि दिएको बोका बोकेर फर्कंदा मलाई उपियाँले टोकेको, तन्द्रामा रात बितेकाले उँघ्दै घर पुगेको र कानमा रातिको झाम्रेको गीत अनि मादल घन्किरहेको अनुभूति सुनाउँदा कतिबेला पुगौँझैँ भयो छोरालाई सत्यवती । 

म सत्यवतीछेउ सडक नपुग्दै ३ पटक गएको, पहिलोपटक माडीफाँट सराइतिरबाट तिनाउ खोलाको तीर हुँदै चरचरे भन्ने ठाउँ (सिद्धार्थ लोकमार्ग) सडकमा निस्केर चौबिसमाइलबाट फेरि ओरालो (खोलामा) झरी नाके उकालो हिँडेर सत्यवतीताल पुग्दा थकाइले लखतरान भएको कुरा सुनाउँदा छोरो रल्ल परेको थियो । सत्यवतीबारे सुनेदेखि पुग्न मन भएको तर हिँड्नुपर्ने भन्दा जाँगर लागेको थिएन । उतिबेला सडक नभएर हिँड्नुपरेको थियो, अहिले त साना गाडी तालनेरै पुग्छन् । छोरो पुग्यो सत्यवती तर बर नमाग्नेगरी । कारण आन्तरिक पर्यटकको रूपमा हामीसँगै घुम्न गएका थियौँ । बज्यैलाई मनका कुरा चिच्याएर सुनाउनु परेन । 

जंगलको बीचमा मनोरम सत्यवती ताल देखेपछि दिदी–भाइ निकै खुशी भए । उसले कतै सत्यवतीबारे यसरी बेलीबिस्तार लगायो–“तालको छेउमा सत्यवती बज्यै र बाजेको मन्दिर रहेछ । कार्तिक पूर्णिमाका दिन (तिहारपछि) जोग (कार्तिकमा पूर्णिमा) पर्दा निकै भीड हुन्थ्यो रे पहिले । हुन त त्यतिबेला १ दिन मात्र मेला लाग्थ्यो । अचेल हप्तादिन मेला लाग्छ । कार्तिक र वैशाखको पूर्णिमाबाहेक अरु दिनसमेत जान सकिन्छ सत्यवती ।’

पूजा गर्न जानेहरूमध्ये कतिले बोका, कुखुरा, परेवा लिएर जान्छन् भने कति रमाइलोका लागि पुग्ने गर्छन् । ताल वरपर मनले चिताएको कुरा माग्दै (भाकल गर्दै) १, ३ वा ५ पटक परिक्रमा गर्छन् । भाकल गर्दा वा बर माग्दा चिच्याएर माग्ने चलन छ । बज्यैले कान नसुन्ने भएकाले त्यसो गर्नुपरेको भनिन्छ । पाल्पा, रूपन्देही, कपिलवस्तु, स्याङ्जा, नवलपरासी,गुल्मी, अर्घाखाँची, कास्की, पर्वतलगायत देशका विभिन्न ठाउँ र भारतबाट समेत पूजा गर्न र घुम्न सबै जातजातिका मानिस आउने हुनाले मेलामा निकै भीड हुने गर्छ । सत्यवती बज्यैले सबैको भाकल पूरा गरिदिनु हुन्छ भन्ने जनविश्वास रहेको मन्दिरका पुजारी दानबहादुर गाहा बताउनुहुन्छ ।

एकआपसमा कटुता भएका, नागरिक र देशको पीर गरेझँै गर्ने तर अरुका इशारामा चल्ने हाम्रा नेतालाई किन बज्यैका सामु नउभ्याउने ? पटकपटक सरकारमा पुग्ने तर नागरिकलाई ढाँटेर भारत, अमेरिका र चीनको कुरा सुन्ने ओली, प्रचण्ड र देउवालगायतलाई एकपटक सत्यवती बज्यैका आँगनमा उभ्याउन बेर नगरौँ । देश र नागरिकको भलो चाहने रहेछन् भने बज्यैका सामु साँचो कुरा मुखबाट बकिहाल्छन् कि ? कि कसो भीम रावलज्यू ?

[email protected]

टिप्पणीहरू