भारतले पेलेको पेल्यै, नेपालले पत्र लेखेको लेख्यै

भारतले पेलेको पेल्यै, नेपालले पत्र लेखेको लेख्यै

दार्चुला र धारचुला बजार जोड्ने झोलुंगेपुल छेउको भारतीय तटबन्ध संरचना निर्माणमा नेपाली पक्षले आपत्ति जनाएको छ । इञ्जिनियरिङ सिद्धान्त र मापदण्डविपरीत संरचना निर्माण भइरहेको भन्दै महाकाली नदी नियन्त्रण आयोजनाले मौखिक र लिखित रूपमा यसबारे जानकारी गराएको छ । 

भारततर्फको झोलुंगेपुलछेउमा पुलको एबुटमेन्टभन्दा ८ मीटरअगाडि तटबन्धको संरचना निर्माण गरेकोमा नेपाली प्राविधिकले सरोकार देखाएका छन् । ‘पुलको एबुटमेन्ट भनेको आफैँमा सुरक्षा संरचना हो, भारततर्फको तटबन्ध निर्माणले पुलको एबुटमेन्ट सबै ढाकिँदै छ’ महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मनोहरकुमार साहले भन्नुभयो । 

पुलछेउको ‘अपस्ट्रिम’मा तटबन्धको ‘कर्भ’ आकारको संरचना बनाएपछि नदीको बहाव नेपालतर्फ फर्किने जोखिम बढेको प्राविधिकहरूको भनाइ छ । भारतीय पक्षबाट पुलछेउको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ दुबैतर्फ ‘काउन्टर फोर्ड रिटेनिङ पर्खाल’को संरचना बनाइँदा नदीको बहाव साँघुरो हुने, बहाव नेपालतर्फ फर्किने र जोखिम बढाउने भन्दै यसबारे आयोजनाले लिखित प्रतिवेदन नै तयार गरेको छ । 

पटक–पटकको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारिएको आयोजना प्रमुख साहले बताउनुभयो । ‘निर्माण भएको संरचनाको अवस्था, सम्भावित जोखिम र समाधानका उपायहरूसहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय र विभागमा पठाएका छौं’ उहाँले भन्नुभयो । 

यसअघि गत बिहीबार दुई देशका अधिकारीहरूको संयुक्त स्थलगत भ्रमणमा पनि आयोजना प्रमुख साहले भारतीय पक्षले प्राविधिक मापदण्डविपरीत संरचना बनाएको भन्दै प्रश्न उठाएका थिए । ‘तटबन्धको संरचनामा हाम्रो प्रश्न र आपत्ति छ तर भारतले संरचना बनाइसकेको छ । अब यसलाई सुधार गर्नुपर्ने दायित्व भारतीय पक्षकै हुन्छ’ आयोजनाका इञ्जिनियर केशवराज शर्माले भन्नुभयो । 

निर्माण भइसकेको तटबन्धको संरचना भत्काउन नेपाली पक्षले प्रत्यक्ष आदेश दिन नसक्ने भएकोले स्थानीय प्रशासन र विभागमा यसबारे लिखित प्रतिवेदनसहितको जानकारी गराइएको इञ्जिनियर शर्माको भनाइ छ । 

‘पुलको एबुटमेन्ट भनेको समग्र पुलको संरचनाको लागि बनाइएको संरचना हो । त्यो एबुटमेन्टलाई समेत ढाकेर तटबन्ध बनाइएको छ’ आयोजनाका इञ्जिनियर केशवराज शर्माले भन्नुभयो । झोलुंगे पुलको ढोकामुनिसम्मको क्षेत्रमा थप लञ्चिङ ब्लक निर्माण गर्न आइतवार खाल्डो खनिँदै गरेकोमा नेपालका प्राविधिकहरूले तत्काल यो काम रोक्न आग्रह गरेका छन् । स्थानीय प्रशासनमार्फत भारतीय पक्षसंग छलफल गरेर मापदण्डविपरीतको संरचना हटाउन र नयाँ संरचना नबनाउन पहल भइरहेको आयोजनाले जनाएको छ । 

आयोजनाका तर्फबाट उठेका प्रश्न र सरोकारबारे भारतीय प्रशासनसँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ‘यसबारे हामी पत्राचार गर्दैछौं, थप छलफल पनि गर्छौं, मापदण्डविपरीतको संरचना निर्माणमा पुनरवलोकन गर्न आग्रह गर्छौं’ उहाँले भन्नुभयो । 

महाकाली नदीमा राखिएको झोलुंगेपुलको लम्बाई ६२ दशमलव ५ मीटर छ । तर, भारतीय पक्षको तटबन्ध संरचना निर्माणले नदीको बहावक्षेत्र पुलको लम्बाईभन्दा कम हुने अवस्था रहेको प्राविधिकहरूको भनाइ छ । भारतीय पक्षले नेपाली पक्षलाई उपलब्ध गराएको तटबन्धको डिजाइनमा नदीको बहाव क्षेत्र ५७ मिटर लेखिएकोले नेपाली पक्ष झन् सशंकित बनेको छ । ‘पुलको चौडाइभन्दा कम नदीको चौडाइ हुनेगरी तटबन्धको संरचना बनाइदा जोखिम बढ्ने हाम्रो निष्कर्ष हो,’ इञ्जिनियर केशवराज शर्माले भन्नुभयो । 

महाकालीमा तटबन्ध निर्माणबारे स्थलगत निरीक्षण गरी टुंगो लगाउन धेरै पहिलेदेखि आफूले केन्द्रीयस्तरबाट प्राविधिक टोली पठाउन माग गरेको प्रजिअ दीर्घराज उपाध्याय बताउनुहुन्छ । तटबन्ध निर्माणमा देखिएको पछिल्लो समस्या र प्राविधिक पाटोबारे मन्त्रालय र विभागस्तरमा पनि जानकारी गराइने उहाँको भनाइ छ ।
 

टिप्पणीहरू