पशुपतिमा दर्शनार्थीको घुईंचो बढेपछि सवारी रुट परिवर्तन

पशुपतिमा दर्शनार्थीको घुईंचो बढेपछि सवारी रुट परिवर्तन

महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर वरपर दर्शनार्थीहरुको भीड बढेपछि सो क्षेत्रको सवारी रुट र पार्किङस्थल परिवर्तन गरिएको छ । पशुपति वरपरका चोकमा समेत दर्शनार्थीहरुको संख्या बढेपछि सवारी साधन डाइभर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार गौशालातर्फ जाने सवारीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातो पुल, सेतो पुल, कालो पुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट अन्यत्र मोड्न लगाइएको छ ।

मालवाहक गाडीलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलको पुल र बसुन्धाराबाट जान दिइएको छैन । बस, माइक्रोबस, टेम्पोलाई पनि फरक रुट निर्धारण गरिएको जानकारी दिइएको छ ।

रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्ल हुँदै तिलगङ्गासम्म पुग्न पाउँछन् । ती सवारी साधन पुनः त्यही मार्ग हुँदै रत्नपार्क फिर्ता हुने व्यवस्था मिलाइएको छ । 
रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानी विभाग, लाजिम्पाट, नारायण गोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म जाने र सोही रुटहुँदै जमलसम्म आउन सक्छन् र दरबारमार्गको महेन्द्र शालिक, तीनधारा पाठशाला हुँदै रत्नपार्क जाने व्यवस्था मिलाइएको छ । 

कालोपुल हुँदै कपन चल्ने गाडीहरू खानी विभाग, लाजिम्पाट हुँदै महाराजगन्ज भएर जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । तिलगङ्गा आँखा अस्पताल अगाडि तीर्थयात्री, दर्शनार्थी र विदेशी पर्यटकका गाडी पार्किङको व्यवस्था गरिएको छ । देव उद्यानमा र भण्डारखालमा पासवाहक सरकारी र प्रहरीका गाडी पार्किङ गराउने भनिएको छ ।

सिफल चौरमा पनि पास भएका र अन्य सवारी साधन एवम् गुह्येश्वरी नजिकै पूर्वतर्फबाट मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीका गाडी पार्किङको व्यवस्था गरिएको जानकारी दिइएको छ ।


 

टिप्पणीहरू