करोड पचाउनेलाई क्या काइदा
सानिमा बैंकका तत्कालीन सिईओ भुवन दाहालले नियमविपरीत सुविधा लिएको भन्दै केन्द्रीय बैंकले ‘सचेत’ गराएको छ । ‘काम गर्ने कालु, मकै खाने भालु’ भनेझैँ वार्षिक २ करोड हाराहारीको सुविधा लिएर पाँच वर्षमा १० करोड कमाएका दाहाल अवकाश लिएर घर बसेका छन् । तर उनको बदमासीबारे अहिलेका सिईओलाई सचेत पत्र बुझाइएको छ ।
यसबीच सञ्चालक समिति सदस्यहरू पनि केही फेरिएका छन् । दाहालले आफूलाई सादगी बैंकरको रुपमा प्रचारबाजी गराउँदै ५० वर्ष नपुगी अवकाशप्राप्त जिन्दगीको पुस्तक सार्वजनिक गरेका छन् । कपन नीलो पुल नजिकैको घर छाडेर बूढानीलकण्ठछेउ आलिशान बंग्लोमा सरेका उनको त्यही अथाह कमाईमाथि प्रश्न उठाउँदै राष्ट्र बैंकले कर्मकाण्डीय हिसाबले सचेत गराएको हो ।
बैंकको सचेत पत्रपछि न दाहालले बढी खाएको रकम तिर्नुपरेको छ, न उनलाई ती सुविधा प्रदान गर्ने सञ्चालक समिति नै जिम्मेवार बन्नुपर्ने अवस्था छ । ‘लाखौं करोडौं खायो पनि भन्ने, सचेत पत्रमार्फत् उन्मुक्ति दिने ?, ’ सानिमा बैंकका एक जना उच्च अधिकारीले बताए ।
गत बुधवार नियामक निकाय राष्ट्र बैंकले सानिमाका सिइओलाई आफूखुशी सुविधा दिएको भन्दै सचेत गराएको थियो । सानिमाले सिइओको सुविधा निर्धारणमा बाफियाको गम्भीर उल्लंघन गरेको उसको दाबी छ । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, दफा २९ को उपदफा (७) उल्लंघन हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकाले दफा ९९ को उपदफा १ (क) अनुसार सचेत गराइएको छ, ’ केन्द्रीय बैंकको पत्रमा उल्लेख छ ।
यसअघि जनआस्था डट कमले ५ कात्तिक २०७८ मा ‘सादगी’ सिइओको तलब दुई करोड, लाखौं बोनस छुट्टै शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारमा नेपाली बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूको मासिक तलब, भत्ता र सुविधा देश, काल र परिस्थिति अनुकूल नभएको उल्लेख थियो । बैंकका सिइओले बुझ्ने तलब, भत्ता र सुविधा तथा उनीभन्दा मुन्तिरका कर्मचारीले पाउने आर्थिक सुविधामा आकाश जमिनको फरक छ ।
तर, सानिमा बैंकका सिइओ तथा नेपाल बैंकर्स संघका तत्कालीन अध्यक्ष दाहालले आफूलाई सिष्टमेटिक र सतप्रतिशत सच्चा बैंकर बताउँदै कुस्त सुविधा लिएको छर्लंग छ । दाहालले २०७७÷०७८ मा पौने दुई करोड रूपैयाँ तलब र सुविधा बुझेका हुन् । उनले बुझेको रकम एक करोड ८४ लाख १५ हजार रूपैयाँ थियो । त्यो भनेको मासिक १५ लाख ३५ हजार रूपैयाँ हो । त्यो वर्ष उनले झण्डै ५० लाख रूपैयाँ बराबरको बोनस थप बुझेका थिए । त्योसमेत जोड्दा मासिक १९ लाख ५० हजार रूपैयाँ थापेको देखिन आएको बारे जनआस्थाले लेखेको थियो ।
उक्त रकमबाहेक महँगो दुई वटा सवारी साधन, चालक, पेट्रोल, टेलिफोनलगायत खर्चसमेत बैंकले व्यहोरेको थियो । त्योभन्दा अघिल्लो वर्ष उनले १ करोड ४६ लाख तलब बुझेका थिए । जुन वर्ष मुलुकलाई कोरोनाले सर्वत्र तहसनहस बनाएको थियो । त्यही वर्ष भुवनजस्ता कथित सिम्पल सिइओले झण्डै ७५ लाख रूपैयाँ बढी तलब, भत्ता र सुविधा बुझ्नुलाई ‘पाखी ओढेर घ्यू खाने ढोंगी’ सँग दाँजियो । राष्ट्र बैंकको निर्देशनबमोजिम सिइओले बुझ्ने सबै सुविधा र रकम वार्षिक प्रतिवेदनमा अनिवार्य लेख्नुपर्छ । तर, दाहालको हकमा उनले बुझेको लाखौं रूपैयाँ बराबरको बोनस उल्लेख गरिएन । बोनस रकमबारे त्यसअघिका प्रतिवेदनमा समेत उल्लेख थिएन ।
टिप्पणीहरू