रवि हट्दा सुरेन्द्रलाई सास्ती

रवि हट्दा सुरेन्द्रलाई सास्ती

दाजुलाई आफ्नै घरमा, भाइलाई सिंहदरबारमा भेटे । ‘काम–कुरा’ मुखैमा पुग्दा गृहमन्त्री पदच्युत ! यसपछि रन्थनिएका छन्, सहकारीका साहु । थुप्रै ऋणिलाई बिल्लीबाठ बनाएर प्रहरीदेखि अदालतसम्म अनगिन्ती उजुरीको चाङले थिचिएको लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी निर्देशक निर्देशक सुरेन्द्र भण्डारीले रविमार्फत एउटा ‘जरुरी’ काम लिनका लागि ५० लाखभन्दा बढी रकम खर्च गरिसकेका थिए । तर, काम ‘मुखैमा’ पुग्दा रवि पदच्युत भए, कुरा खत्तम ! मामिला थियो, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लालीगुराँसको १३ वर्ष पुरानो बदमासीमाथि गरिरहेको अनुसन्धान प्रक्रियालाई भित्रभित्रै दबाइदिनुपर्ने । गायक रामकृष्ण ढकाल र उनकी पूर्वपत्नी निलम शाहको घर लिलामी गरिसक्दा पनि उनीहरूबाट थप रकम लिनुपर्ने हिसाब देखाइयो, अदालतले रकम तिर्नुनपर्ने भनेपछि पनि झन्झन् दुःख दिइँदा सिआइबीमा यो लफडा पुगेको छ । त्यसमाथि सुरेन्द्रले एकजना महिलाका नाममा नियमविपरीत कर्जा प्रवाह गरेको विषय गम्भीर बनिरहेको छ । 

सिआइबी स्रोतका अनुसार, गायक ढकाल दम्पतीले ०६६ फागुन ५ मा पुल्चोकस्थित लालीगुराँस सहकारीसँग १ करोड ८० लाख रुपैयाँ कर्जा लिएका थिए । त्यसका निम्ति साविक सैंवु गाविस–८ मा रहेको कित्ता नं. ३९२, ३९३ को ८७.४४ र २००.७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित त्यसमा निर्मित घर धितो राखिएको थियो । १७ प्रतिशत ब्याजदरमा दिइएको कर्जाको नियमित किस्ता उनीहरूले तिरेका थिएनन् । फेरि ०६९ जेठ ११ गते रामकृष्णका नाममा ५७ लाख रुपैयाँ कर्जा जारी गरियो । कर्जाको सबै कारोबार जोड्दा गायक दम्पती पाँच करोड हाराहारीको लफडामा परे । ०७० जेठ २३ गते उनीहरूको घर लिलाम भयो । लिलामीपछि पनि सहकारीले निलमको नाममा ८७ लाख र रामकृष्णको ५७ लाख रुपैयाँ तिर्न बाँकी हिसाब देखायो । यसविरुद्ध उनीहरू ०७२ साउन ३२ मा जिल्ला अदालत, ललितपुर पुगे । फागुन १२ मा उनीहरूको पक्षमा फैसला आयो । तर, सहकारी उनीहरूको पछाडि लागिरह्यो । अहिले आर्थिक अपराधमा लालीगुराँसको संलग्नताबारे सिआइबीमा सोधपुछ चलिरहेको हो । यसमा रवि लामिछानेका दाजु हरिशरणले एउटा घर खरिद गर्दा एक बैंकसँग ऋण लिएका थिए । बैंकले ऋण तिर्न नसकेपछि लिलामी गर्न लाग्दा लालीगुराँसले बैंकको ऋण मिलाइदिएपछि उनीहरूको सम्बन्ध राम्रो बनेको थियो । रवि गृहमन्त्री भएपछि त्यही सम्बन्धमा थप आर्थिक लगानीसहित सुरेन्द्र कुरा गर्न पुगेका थिए । कुरा त गरे, काम भएन । सिआइबीका एक अनुन्धान अधिकृत भन्छन्, ‘हामी सोधपुछकै चरणमा छौँ, विषय गम्भीर छ ।’

सुरेन्द्र मात्र हैन, प्रहरीका अरु थुप्रै अधिकृत रविमार्फत काम लिने गरी सबै कुरा गरिसकेर बिल्लिबाठ भएका छन् । म्याग्दी स्थायी ठेगाना भई अमेरिकाको बाल्टिमोरमा रविसँगै लामो समय बसेका मोहन थापामार्फत विभिन्न सरुवा–बढुवाको खेलो शुरु भएको थियो । काम हुन नपाउँदै उनको पद गयो । त्यसमध्ये उपत्यका ट्राफिकबाट हटाइन लाग्दा डिआइजी मीरा चौधरीले काठमाडौं महानगरपालिकाका मेयर वालेन साहमार्फत भनसुन गराइन् । उनले नियमित सरुवामा अन्यत्र पठाइदिन तर बीचैमा नहटाउन अनुरोध गरेकी थिइन् । 
 

टिप्पणीहरू