गर्न त गरौं तर कसरी गरौं !

गर्न त गरौं तर कसरी गरौं !

अरु नेता भन्दैछन्, ‘गरिहालौँ, गरिहालौँ !’ तर, प्रचण्ड भन्दै हुनुहुन्छ, ‘गर्ने त हो, तर कसरी ?’ सत्ता राजनीतिमा ‘कोर्ष करेक्सन’ करिव–करिव शुरु भएको बुझिन्छ । तर, त्यसलाई निश्चित निश्कर्षसहित प्रष्ट पारेर जाऔँ भन्ने उठ्दा नेताहरुबीच यस्तो प्रश्नोत्तर भएको हो । भर्खरै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताबीचको छलफलमा प्रचण्डले मसक्क आँटिहाल्ने हिम्मत गर्नुभएन । तर, एमालेसहित अगाडि बढ्ने मनस्थितिबाट मुक्त भइसक्नुभएको छ । अर्थात्, एमालेलाई राष्ट्रपति नदिने तर कतिबेला उसले बुझ्ने गरी बाटो बदल्ने भन्ने अन्यौलतामा हुनुहुन्छ ।

भनिन्छ, राष्ट्रपतिबारे ओलीको भनाइ छ, ‘बीचको मान्छे खोजौँ !’ कतिसम्म भने, प्रचण्डलाई फकाउन ‘माधव भए पनि, झलनाथ भए पनि हुन्छ’ भन्दै नाडी छाम्ने काम शुरु गर्नुभएको बताइन्छ । ओलीको मुखबाट अहिलेसम्म कसलाई राष्ट्रपति बनाउने भन्ने आएको छैन । अर्थात्, जसलाई उहाँले बनाउन चाहनुभएको छ, त्यो नाम मनमै छ । जसरी देवराज घिमिरेलाई सभामुख बनाउने कुरालाई लामो समय मनमै राखी अन्तिममा पार्टी निर्णयबेगर उम्मेदवार बनाउनुभयो, राष्ट्रपतिमा पनि त्यही गर्नुहुने बुझिन्छ । जित्ने गरी राष्ट्रपति हुने भए एउटा, हार्ने गरी उम्मेदवार बनाउनुपर्ने भएमा अर्को नाम उहाँको मनमा रहेको अनुमान नेताहरुले गरेका छन् । 

उपेन्द्र यादव गैरएमाले राष्ट्रपतिको पक्षमा हुनुहुन्छ । प्रचण्ड पनि एमालेबाहेकको राष्ट्रपति बनाइएन भने टिक्न गाह्रो हुन्छ भन्दै घुमाईफिराई बाबुराम भट्टराईलाई बनाउनेतिर हुनुहुन्छ । यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दा ‘रामचन्द्र पौडेल घाँडो भयो, टुंग्याइदिऔँ’ भन्दै अत्तो थाप्नुभएको छ । उहाँको अरु जिकिरै छैन, रामचन्द्रबाहेक ।

एकीकृत समाजवादीका नेताहरु प्रचण्डसँग मिलेर जानुको विकल्प देखिरहेका छैनन्, तर त्यति धेरै विश्वास गर्नलायकका नेता होइन पनि भन्ने गरेका छन् । अर्थात्, एकीकृत समाजवादीका नेताहरुले प्रचण्डसँग शंकाको लाभसहित सौहार्दता कायम गरिएको भन्दैछन् । उनीहरुसँगको कुराकानीमा प्रचण्डले ओलीसँग नजाने पक्कापक्की गरिसक्नुभएको अवस्था छ ।
 

टिप्पणीहरू