सरकारी सेवामा पतिपत्नी सँगसँगै

सरकारी सेवामा पतिपत्नी सँगसँगै

दुनियाँ नै जित्नेहरूको हो, उनीहरूकै लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ, इतिहासको पानामा । कसैले हिसाब राख्दैन तिनको, कसैले भाउ दिँदैनन्, कसैले खोज्दैनन् हार्नेहरूलाई । अक्सर हामी एक/दुई वटा असफलताबाटै निराश हुन्छौं र मोड्छौं जीवनको बाटो । तर, जीवनको परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नैपर्छ असफलतासँग । धेरैको रहर हुन्छ निजामती सेवामा प्रवेश गर्ने । तर, यो अवसर सबैका लागि कहाँ जुर्छ र ? निष्ठापूर्वक सेवा र कठिन परिश्रम गर्दै गएको खण्डमा पद र प्रतिष्ठा खोज्दै जानु पनि पर्दैन । मात्र हुनुपर्छ दृढ इच्छाशक्ति र संकल्प । असम्भव केही छैन दुनियाँमा ।

निजामती क्षेत्रमा एक प्रेमिल जोडीले हालै मात्र नयाँ रेकर्ड कायम गराएका छन् । यो दम्पत्ति हो, मनबहादुर थापा र विना केसीको । दम्पतीले नै एकै पटक शाखा अधिकृतमा नाम निकाल्यो र एकै पटक पदस्थापन पनि भयो । लोकसेवा आयोगले हालै विज्ञापन नम्बर १६६९५ –०७७/७८ प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फको नतिजा सार्वजनिक गर्दा नाम निकाल्न सफल भयो यो जोडी । उक्त जोडीको सफलता लोक सेवा आयोगप्रति रुचि राख्नेहरूका लागि प्रेरणाको बनेको छ । थापा दम्पतीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पदस्थापनको स्थायी नियुक्ति पत्र प्राप्त गरिसकेको छ, सामान्यले दुबैलाई अतिरिक्त समूहमा राखेको छ । पदस्थापन हुन भने बाँकी छ ।

मनबहादुरले निजामती सेवामा पाइला राखेको ६ वर्ष भइसकेको छ । मनकै प्रेरणाले विना पनि ०७४ सालबाट निजामती सेवामा प्रवेश गरेकी हुन् । साधारण परिवार, पढाइको खर्च जुटाउन गरेको कठिनतम संघर्ष, जेठो छोरा । आफूपछिका दुई भाइ र तीन बहिनीको जिम्मेवारी पनि काँधमा । देख्थें, घर खर्च र सन्तानको शिक्षा–दीक्षाका लागि खर्च जुटाउन पिताजी कालापहाडमा मजदुरी गर्न जानुभएको । पिताकै साथ लागेर केही समय उनी पनि कालापाहाड पुगी मजदुरी गरेका छन् । त्यही मजदुरको छोरा भएर बालकल्याण आधारभूत विद्यालय गुयालसिममा प्राथमिक तहको अध्ययन गरेका मनबहादुरले श्री कृष्ण माध्यमिक विद्यालय लकान्द्रबाट एसएलसी, होलिल्याण्ड उच्च माध्यमिक विद्यालय नेपालगञ्जबाट कक्षा १२ हुँदै नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर पार लगाए । ०७४ मा निजामतीतर्फ पाइला राखेका उनी यसअघि केही समय मुगुको रारा राष्ट्रिय निकुञ्ज हुँदै आफ्नै गृहनगर ठाँटीकाँधमा अधिकृत स्तर छैटौँ तहमा कार्यरत थिए । त्यही समय एक पटक अधिकृतमा परीक्षा भिडें, असफल भए । अहिले अधिकृतमा पत्नीसँगै आफ्नो नाम निकाल्न सफल भए ।

सहसचिव तहकै ६ जोडी, सहसचिव र उपसचिव तहका ६, सहसचिव–शाखा अधिकृतका १०, उपसचिवका १६, उपसचिव–शाखा अधिकृतका २५ र शाखा अधिकृतका २० जोडी निजामती सेवामा छन्् ।

दैलेख त्यही जिल्ला हो, जहाँबाट एकै पटक ९ जना प्रमुख जिल्ला अधिकारी भए । कांग्रेसनिकट कर्मचारी फाँटमा बस्दा छानी छानी प्रमुख जिल्ला अधिकारी बनाएर खटाइयो । अहिले पनि ५/६ जना दैलेखी सिडिओको भूमिकामा छन् तर दैलेखको विकट गाउँमा न बत्ती पुगेको छ, न त छ इन्टरनेटको पहुँच । पत्नी विनाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी बर्दियाबाट एसएलसी,त्रि–भुवन उच्च मावि कोहलपुरबाट कक्षा १२ पास गरिन् । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाटै स्नातक र स्नातकोत्तर पार लगाएका उनीहरूको भेटचाहिँ लोक सेवाको तयारी कक्षामा भएको हो । मनबहादुरले योभन्दा पहिला एकपटक शाखा अधिकृतको लागि प्रयास गरिसकेका थिए । तर सफल भएनन् । दोस्रो पटक जसरी पनि उत्रन्छु भन्ने दृढता थियो । लगनशीलता र निरन्तर प्रयासले नतिजा आफ्नो पक्षमा आएको सुनाउँछन् । विना भने पहिलो प्रयासमै शाखा अधिकृतमा सिफारिस भएकी हुन् । यसअघि सुर्खेत जिल्ला अदालतमा नासु थिइन् भने मनबहादुर आफ्नै गृहपालिका ठाँटीकाँधमा अधिकृत स्तर छैटौँ तहमा कार्यरत थिए । ०७४ सालदेखि निजामतीमा पाइला राखेका उनीहरूबीच लगनगाँठो चाहिँ कसियो ०७७ सालमा ।

भन्छन्, जीवन नियममा होइन संयोगमा हुन्छ । अक्सर मान्छेहरू सफलतालाई मात्र देख्छन्् तर सो प्राप्त गर्नका लागि गरिएको संघर्ष देख्दैनन् । संघर्षको भट्टीमा खारिएर, दुःखका आरनमा अर्चापिएर शाखा अधिकृतसम्मको बाटो तय गर्न सफल भएका हुन् यिनले । लगातार नदीको बहावले ठुल्ठूला चट्टानलाई पनि पगाल्छ भनेझैं शाखा अधिकृत बन्न कम्ता पापड पेलेका हैनन् । भनिन्छ, प्रेम सर्वव्यापी हुन्छ । जुनसुकै पेशा–व्यवसायका व्यक्तिलाई पनि यसले लपेट्न सक्छ । यस्ता अनुकरणीय पात्र निजामती सेवामा धेरै भेटिन्छन्, जस्तो सावित्रा काफ्ले र नविन मैनाली दुवै अफिसर हुन् तर मेडिकलको भाषामा दृष्टिविहीन । सावित्री उच्च अदालत पाटन र नवीनले सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र बानेश्वरमा आन्तरिक प्रशासन शाखा हेर्दै आएका छन् । निजामती सेवाको उच्च ओहोदा (अफिसर) तहमा पुग्ने अपांगताको सम्भवतः यो पहिलो जोडी हुनुपर्छ । जीवनमा एक छाक खाना दिनेभन्दा प्रिय हुन्छ बाटो देखाइदिने मान्छे । यो तिनको जीवनको एउटा सानो उपलब्धि मात्र हो । यो गन्तव्यसम्म पुग्नका लागि हौसला दिने, साथ दिने सबै–सबैप्रति कृतज्ञता प्रकट गरेका छन् यिनले । श्रीमान्–श्रीमती नै शाखा अधिकृत हुने यस्तो संयोग जो कसैको जीवनमा आउँदैन । एक अर्कालाई बुझ्दै–बुझाउँदै, कमी–कमजोरीलाई औँल्याउँदै अघि बढेका छन् । 

अघिल्लो वर्ष मात्र एकै परिवारका दाजुभाइ दिनेश र दिपेश खनालले शाखा अधिकृतमा नाम निकालेर रेकर्ड कायम गरेकै थिए । एकाघरबाट सरकारी सेवामा लागेकाहरू त धेरै भेटिन्छन् । जस्तो ः अहिले स्वास्थ्य सचिव देवकुमारी गुरागाइँका सातै जना दाजुभाइ दिदी–बहिनी सरकारी जागिरे हुन् । दाइ महेन्द्र लोकसेवाको सचिवबाट अवकाश पाएर निवृत्त जीवन बिताइरहेका छन् । यसअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका पार्वती र बसन्ती भट्टसमेत एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भए । उसो त निजामतीमा सयौं जोडी श्रीमान्–श्रीमती छन् ।

हालै सामान्य सचिवको जिम्मेवारीमा पुगेका कृष्णहरि पुष्कर र सहसचिव आभा कर्ण दम्पती हुन् । यसका अलावा सहसचिव तहकै ६ जोडी, सहसचिव र उपसचिव तहका ६, सहसचिव–शाखा अधिकृतका १०, उपसचिवका १६, उपसचिव–शाखा अधिकृतका २५ र शाखा अधिकृतका २० जोडी निजामती सेवामा छन् । यीमध्ये कतिपयले सरकारी सेवामा प्रवेश गरेपछि दाम्पत्य जीवन शुरु गरेका हुन् भने कतिपयले विवाहपछि एक–अर्कालाई आफ्नै पेशामा प्रवेश गराएका भेटिन्छ । जस्तो : पूर्व शहरी विकासमन्त्री मन्त्री रामकुमारी झाँक्री राजनीतिमा छिन् । उनीबाहेक परिवारका अरु सदस्य (घरपट्टिको) सबै निजामतीमा छन् । पाँच छोरा र चार बुहारी सरकारी सेवामा छन् । सहसचिव ध्रुव घिमिरेको परिवारका पाँच सदस्य निजामती सेवामा रमाइरहेका छन् । यस्तै लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ र उद्योग मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ दाजुभाइ हुन् भने राजकुमारकी पत्नी रोशनी हालै बाग्लुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा गएकी छन् । 

– निर्जला गौतम

टिप्पणीहरू