कांग्रेसीबीच अर्कै कचिंगल

कांग्रेसीबीच अर्कै कचिंगल

एकै श्वासमा शेरबहादुर देउवाले भन्नुभयो, ‘रामचन्द्र हो, अरु होइन...! मैले पार्टी चलाउनुपर्छ, बुझ्नुुस् न यार !’

‘यस्तो कुरा गरेर भएन सभापतिज्यू...’ बीचैमा कुरा रोकेर फेरि भन्नुभयो, ‘तपाईंहरू बुझ्नुस् यार, रामचन्द्र भन्या हो, रामचन्द्र !’ कुरा बुझाउन, सम्झाउन र मनाउन सकिन्छ कि भनेर धुम्बाराहीस्थित कांग्रेस सभापति देउवाको निवासमा पुगेका कांग्रेसकै केही नेतासँगको कुराकानीमा अस्ति सोमबारसम्म शेरबहादुर देउवा अरू कुनै कुरा सुन्ने, बुझ्ने पक्षमा हुनुहुन्थेन । तैपनि गएकामध्ये एक जना नेताले खुलस्त भने, ‘तपाईंले पुस १० गते आफ्नो प्रधानमन्त्रीका लागि प्रचण्ड बिच्क्याउनुभयो, प्रचण्डलाई ओलीले प्रधानमन्त्री बनाए ।

अहिले रामचन्द्र दाइका लागि माधव नेपाललाई बिच्क्याउँदै हुनुहुन्छ, ओलीले माधवलाई राष्ट्रपति बनाउँछु भनिसक्यो ।’ फेरि पनि देउवा गल्नुभएन । ‘माधव नेपालले पार्टी चलाए भइहाल्यो नि, किन राष्ट्रपति बन्नुप¥यो ?’ अनुदार भावमा देउवाले उल्टै प्रश्न तेस्र्याउनुभयो । एक नेताले भने, ‘यस्तै कुरामा रिजिट हुँदा गेम अरुले खेल्छ, फेरि ओलीलाई खेल्न दिने ? यस्तो नगरौँ सभापतिज्यू !’ देउवाको एक मात्र चासो छ, पार्टी मिलाउनलाई रामचन्द्र नै राष्ट्रपति हुनुपर्ने । 

फेरि पनि कांग्रेसको हातबाट बल नफुत्कियोस् भन्ने कुरामा सचेत रहँदै आएको पार्टीको एउटा तप्काले आइतबार केपी ओली र माधव नेपालबीच कुराकानी भएको सूचना पाइसकेको थियो । त्यो अवस्थामा कांग्रेसले ‘रिजिट’, अर्थात् टसका मस नभई आफ्नै अडानमा उभिने हो भने फेरि पनि पुस १० को जस्तै घटना हुन्छ भनेर सम्झाउनुपर्ने, देउवा सम्झिँदै नसम्झिने † ती नेताहरूलाई उहाँले ‘होइन–होइन, हुँदैन’ मात्रै भन्नुभयो, अरु केही कुरै गर्नुभएन । देउवाको यही शैली, अडान र अरुका कुरालाई महत्व नदिने बानीले नै मंसिर ४ को चुनावपछि उसले पाउन सक्ने थुप्रै अवसर गुमाएको ती नेताले देउवासँगको भेटपछि आपसमा कुरा गर्दै थिए ।

अर्कातिर, कांग्रेसभित्र विश्वप्रकाश शर्मा, गगन थापाहरूको समूहले रामचन्द्र नभई शेरबहादुर देउवालाई नै राष्ट्रपतिका रूपमा अगाडि सार्नुपर्ने आन्तरिक अभियान नै चलाएका छन् । त्यसो गर्दा कांग्रेसभित्र नेतृत्व हस्तान्तरण सहज हुने, पुस्तान्तरण प्रक्रिया अगाडि बढ्ने सम्भावना रहन्छ । नत्र, देउवा सभापति रहुञ्जेल न अर्को मान्छेले प्रधानमन्त्री हुन पाउने भयो, न त नेतृत्व नै हस्तान्तरण हुन्छ । देउवा स्वयं भने राष्ट्रपतिमा जान तयार हुनुभएको छैन ।
 

टिप्पणीहरू