‘तपाईं नै भन्नुस्’–‘मैले के भन्ने ?’

माधव–ओलीका कुरा

‘तपाईं नै भन्नुस्’–‘मैले के भन्ने ?’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपति बन्ने कुरा बजारमा हल्ला चलेजति कुरा परिपक्व भएको होइन । तर, एकथरी नेताहरूको प्रयास, उत्तरी छिमेकी राष्ट्रको चाहना र वाम बुद्धिजीवीहरूको सुझाव भने त्यही छ, जसरी हुन्छ वामपन्थी मिलेर गए हुन्थ्यो । 

कांग्रेसलाई राष्ट्रपति दिएर शून्य उपलब्धिसहित अगाडि बढ्नुभन्दा पार्टी एकताको बाटो खुल्ने, अगामी राष्ट्रियसभा निर्वाचनदेखि विभिन्न सन्दर्भमा अनुकूलको परिणाम पनि आउने मान्यतासाथ एमालेका एकथरी नेताहरू माधव वा झलनाथलाई राष्ट्रपति बनाएर अगाडि बढ्दा सहज हुने ठम्याइमा छन् । एमालेले अगाडि सार्ने कुनै पनि नामलाई न प्रचण्ड, न देउवा, न त माधव–उपेन्द्र यादव कसैले स्वीकार गर्ने अवस्था भएन । अन्तिमसम्म पनि एमालेले आफ्नै राष्ट्रपति हुनुपर्छ भन्यो भने उम्मेदवारसम्म त कोही बन्लान् । तर, जित्ने उम्मेदवार एमालेले पाउँदैन । त्यसैले त्यो स्थितिमा केही नहुनुभन्दा ‘केही हुने’ दिशातर्फ अग्रसर हुने एमालेका केही नेताको मनशाय छ । त्यसैले केपी ओली आफैँ बाँसबारी असपासको एउटा घरमा माधव नेपाललाई भेट्न आइतबार पुग्नुभएको हो ।

तर, माधवले पार्टीलाई अप्ठ्यारो पारेर राष्ट्रपतिमा नजाने भन्नुभयो । प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिने र आफू पाँच वर्ष प्रधानमन्त्री चलाउने स्थितिमा पुगिसकेको अवस्थामा माधवलाई राष्ट्रपतिको रूपमा अगाडि सारे केही सहज स्थिति हुन्छ कि भन्ने कोणबाट उक्त भेटमा छलफल भयो । ओलीले राष्ट्रपतिका लागि प्रस्ताव नै राख्नुभएको त होइन । ओलीले भन्नुभएको थियो, ‘हामी नमिली केही हुँदैन । देश धेरै अप्ठ्यारोमा पुग्यो । पार्टी पनि अप्ठ्यारोमा छ । कसरी अगाडि बढ्न सकिन्छ ? तपाईंले नै भन्नुस् ।’ माधवले भन्नुभयो, ‘मिल्ने, तर के शर्तमा ?’ यो कुरा सुनेपछि ओली चूपचाप रहनुभयो । एकछिन चूप लागेर भन्नुभयो, ‘तपाईंले भन्नु न, के गर्दा हुन्छ ?’ माधवले भन्नुभयो, ‘जति दुःख, अप्ठ्यारो भए पनि साथीहरू आज पनि पार्टी बनाएर हिँड्नुभएको छ । वाम राजनीतिमा एउटा ध्रुवीकरणको विकास भएको छ । यस्तो स्थितिमा झलनाथजी वा म मात्रै राष्ट्रपति हुने वा प्रधानमन्त्री हुने कुराले ती तमाम साथीहरूको भावनामाथि न्याय गर्दैन । पार्टी बनाउने कुरालाई छाडेर म अरु कुरामा लाग्दिनँ । एकता गर्ने हो भने त्यसको खाका पहिला तपाईंले ल्याउनुस्, ठीक लागे कुरा गरौँला, नलागे पछि भेटौँला ।’

माधव नेपालनिकटस्थ नेतामध्ये घनश्याम र बेदुराम भुसालको सुझाव छ, ‘एमालेको समर्थनमा राष्ट्रपति बन्न सकिँदा त्यो बनौँ तर एकता गर्ने कुरा नगरौँ ।’ उनीहरूले पार्टी नेतृत्वको व्यवस्थापन गरेर माधव राष्ट्रपति हुने भए त्यो मौकालाई पनि उपयोग गर्नुपर्छ भनेका छन् । एमाले र समाजवादीका एकथरी नेताहरू अहिले माधव–ओली भेटघाटको स्पिरिटलाई समातेर केही परिणाममुखी काम गर्न सकिन्छ कि भनेर नियमित संवादमा छन् । तीमध्येका एक जना नेताले जनआस्थालाई सुनाए, ‘आजभोलिमै केही हुँदैन । कुरा मिले पनि, नमिले पनि शुक्रबार (१२ गते) दिउँसोसम्ममा एकथोक क्लियर हुन्छ । किनभने, १३ गते त नोमिनेशन गर्नुपर्छ । त्यसैले माधव राष्ट्रपतिका रूपमा अगाडि सर्ने कुरा भयो भने कस्तो कण्डिसनमा अगाडि बढ्ने ? पार्टी एकता, कार्यगत एकता वा समर्थन मात्रै लिएर भन्ने कुराको छिनोफानो त्यही दिनभित्र लाग्छ । त्यसमा प्रचण्डको चाहना र भूमिका पनि निर्णायक हुन्छ ।’ 

यसरी एमालेले पहिलो लाइनका रूपमा माधवलाई बनाएर जाने । दोस्रो लाइनमा कांग्रेसलाई समर्थन गर्ने, शर्तचाहिँ सरकार कांग्रेस–एमालेको बनाउने भन्ने अवलम्बन गरेको छ । केहीसीप लागेन भने सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएर एमाले चुनावमा जान सक्छ । माधव हुँदा कम्युनिष्टहरू मिल्ने ठाउँमा पुग्छन् । मिल्दा एमाले ठूलो पार्टी बन्छ । राष्ट्रियसभामा जितिने अवस्था हुन्छ । माओवादीहरूले एस र एमाले मात्रै किन, सबै कम्युनिष्ट मिलेर कम्युनिष्ट केन्द्र बनाऔँ भनिरहेका छन् । उनीहरूले त्यस्तो केन्द्र नबनाउने भए माओवादी र एस मात्रै मिलौँ भनेका छन् ।
 

टिप्पणीहरू