चुनावहरूको अर्कै चटारो
राष्ट्रपतिका लागि फागुन २५ र उपराष्ट्रपतिका लागि चैत ३ गते चुनाव भएपछि देशले फेरि एक वर्षपछि १८ जनालाई निर्वाचन गराउने गरी चुनाव झेल्दै छ । त्यो हो, राष्ट्रियसभा निर्वाचन ।
त्यसो त रवि लामिछानेको उम्मेदवारी बदरपछि रिक्त रहेको चितवन– २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । यदि, अहिले चर्चामै रहेका व्यक्तिहरू राष्ट्रपति र उपराष्ट्रपति भए भने तिनका रिक्त हुने निर्वाचन क्षेत्रमा पनि वैशाख १० मै उपनिर्वाचन गराउने मनस्थितिमा निर्वाचन आयोग छ । कांग्रेसले शेरबहादुर देउवा वा रामचन्द्र पौडेलमध्ये जसलाई अगाडि सारे पनि उहाँहरूको निर्वाचन क्षेत्र रिक्त हुन्छ ।
उपराष्ट्रपति जसपाले पायो र रामसहायप्रसाद यादव नै भएछन् भने पनि बारा– २ खाली हुन्छ । यसरी हेर्दा सकिने लागेको ०७९ सालमा देशले स्थानीय, प्रनिनिधिसभा, प्रदेशसभा, सभामुख, उपसभामुख, राष्ट्रियसभाको उपनिर्वाचनदेखि राष्ट्रपति, उपराष्ट्रपतिका निर्वाचनहरू झेल्यो ।
०८० सालमा भने दुई निर्वाचन झेल्नुपर्ने पक्कापक्की छ । एउटा वैशाखको उपनिर्वाचन र अर्को हो, माघ–फागुनतिर राष्ट्रियसभाका रिक्त हुने १८ सीटका लागि । राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, हालकी परराष्ट्रमन्त्री विमला राई पौडेल, रामबहादुर थापा (बादल) को पद रिक्त भएपछि कलम चिह्नबाट चुनाव जित्ने डा.खिमलाल देवकोटासहितका १८ जनाको ६ वर्षे कार्यकाल समाप्त हुन लागेको छ । त्यसरी कार्यकाल समाप्त हुनेमध्ये अधिकांश एमाले सांसद छन् । यदि, अहिले फेरिन खोजेको सत्ता गठबन्धन चर्चामा आएजस्तै एमालेविहीन रहेमा राष्ट्रियसभामा एमाले निकै कम संख्यामा रहन्छ ।
उता, संसदभित्रबाट निर्वाचित हुनुपर्ने उम्मेदवारहरूका हकमा आकर्षित हुने मतभार कम्तीमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्म तलमाथि नहुने भएको छ । जनसंख्याको अनुपातका आधारमा सांसदहरूको मतभार निर्धारण हुने गर्छ । सरकारले ०७८ सालमा गरेको जनगणनाको परिणाम तथ्यांक विभागले हालसम्म सार्वजनिक गरेको छैन ।
टिप्पणीहरू