कहाँ रोकियो रविको राहदानी ?
यदि सर्वोच्च अदालतले पूर्णपाठकमै केही भनिदियो भने अर्कै कुरा, नत्र प्रहरीलाई एउटा दुःख कसरी टार्ने भन्ने ठूलो संकट आइलागेको छ । यदि सर्वोच्चले प्रहरीलाई केही हलुका बनाइदिएन भने उसले पक्रिनुपर्ने छ, उपप्रधान तथा गृहमन्त्री भइसकेको मान्छेलाई । तर, ल्याउने कसरी ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा ३२ दिने गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेको दोहोरो राहदानीको मुद्दामा प्रहरीलाई यस्तो अप्ठेरो परेको हो । एउटै मुद्दामा दोहोरो जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको मिसिलको जवाफ पाइसकेको छ ।
उक्त जवाफअनुसार मुद्दा अभियोजनको प्रक्रियाका लागि आवश्यक पर्ने प्रमाण संकलन गरी आरोपीको बयान लिनुपर्छ र उक्त बयान सरकारी वकिलकहाँ पेश गर्नुपर्छ । त्यसपछि फेरि सरकारी वकिलले बयान लिन्छ । र, बढीमा २५ दिनभित्र जिल्ला अदालतमा पेश गरिसक्नुपर्छ । यी सबै प्रक्रियाका लागि आरोपित व्यक्ति प्रहरीको हिरासतमा हुनैपर्छ । किनभने, यो फौजदारी मुद्दा हो । अहिले प्रहरीका लागि प्रतीक्षाको विषय बनेको छ, सर्वोच्च अदालतबाट आउने पूर्णपाठको । किनभने, उनको दाहोरो राहदानीसम्बन्धी उजुरीका साथमा संलग्न भएका कागजातहरु नागरिकतासम्बन्धी मुद्दाको मिसिलसँगै सर्वोच्चमा पुगेको थियो । प्रहरीले नागरिकताबारे गरेको अनुसन्धानभित्रै स्वतः बदर मानिने नागरिकताकै आधारमा उनले राहदानी लिएको र उक्त राहदानी बहाल रहेकै अवधीमा विदेशी राहदानीसमेत प्रयोगमा आएको विवरण पेश गरेको थियो । अर्थात्, स्वतः बदर भएको नागरिकता देखाई राहदानी लिनु सरकारी कार्यालयलाई झुक्याउनु, अर्थात् कीर्ते गर्नु हो भन्ने कानुनको ठम्याई छ । यसआधारमा अनुसन्धान गर्दा उनीमाथि केवल दोहोरो राहदानी प्रयोग गरेको अभियोगमात्रै आकर्षित हुँदैन, कीर्तेको महल पनि आकर्षित हुने कानुन व्यवसायीहरु बताउँछन् ।
जुनसुकै स्थितिमा भए पनि प्रहरीले रविलाई एक घण्टा, एक दिन वा पूरै अनुसन्धान अवधीभर आफ्नो नियन्त्रणमा लिनै पर्छ । कि, सर्वोच्चको पूर्णपाठबाटै राहदानी कसुरमा सजायँ निर्धारण हुनुपर्यो । त्यसो गर्दा प्रहरीलाई टण्टासाफ हुन्छ । हैन भने प्रहरीले मुलुकी फौजदारी संहिताबमोजिम प्रक्रियामा जानुपर्छ, जुन उसको बाध्यता हो । प्रहरीलाई अहिले पनि उक्त फाइल अगाडि नबढाउन वा विस्तारै गर्न दबाब दिनेहरु प्रशस्तै छन् भने कतिपयले त्यो फाइल छिटोभन्दा छिटो अगाडि बढे हुन्थ्यो भनिरहेका छन् । त्यसो त प्रहरीले कसैले गर भन्दा गर्ने, नगर भन्दा नगर्ने त हुँदैन । तर, ‘हाइप्रोफाइल’ मुद्दाको दबाबलाई धेरै दिन झेल्नुपर्ने अवस्थामा काठमाडौं प्रहरी हैरान भएको छ । यसबारे जनआस्थालाई काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई सोध्दा उनले सर्वोच्चमा रहेका कागजात आउन बाँकी रहेको र त्यसबाहेकका सबै चिजहरु तयारी अवस्थामा रहेको बताएका छन् । ‘पूर्णपाठले यो अनुसन्धानका विषयमा पनि केही उल्लेख गर्यो भने हामी त्यहीअनुसार अगाडि बढ्नुपर्छ, यदि त्यस्तो केही कुरा आएन भने त्यहाँ भएका कागजातका आधारमा मुद्दा अगाडि बढ्छ’, उनले भने ।
टिप्पणीहरू