चुहावटमा ‘झलक दिखला जा’

चुहावटमा ‘झलक दिखला जा’

एउटा इमान्दार कर्मचारी कमाण्डर बनेर जाँदा भ्रष्ट र तरमारा कर्मचारीदेखि राजश्वमाराहरूको कसरी निदहराम हुन्छ भन्ने जान्न पुल्चोकस्थित राजश्व अनुसन्धान विभागतिर आँखा डुलाए पुग्छ । 
सेटिङ कलामा पारंगत र बदनामी कमाएका कर्मचारी हुन्, झलकराम अधिकारी । प्रधानमन्त्री प्रचण्डका जिल्लाबासी । राजश्व सेवा समूहबाट नउठेका उनी यस्ता बदनाम कर्मचारी हुन्, कहाँ कसरी मनग्य राजश्व मार्न पाइन्छ खोजेर र रोजेरै ती अड्डामा मुग्ने । सरकारी राजश्वमा तर मारेर आफू ढाडिने उनको रबैयाबाट अहिले मुक्त भएको छ राजश्व अनुसन्धान विभाग । साढे चार महिना मात्र पुल्चोकस्थित विभागमा रहँदा उनले विभागलाई दुहुनो गाई बनाएर बिदा भएको राजश्वकै कर्मचारीहरू बताउँछन् ।

आरजु राणा फस्र्ट लेडीको भूमिकामा हुँदा कुस्त रकम बुझाएर त्यहाँ पुगेका थिए अधिकारी । उनको सरुवालाई त्यतिखेर सुपारी तस्करी प्रकरणसँग समेत जोडिएर हेर्ने गरिएको थियो । अधिकारी यसअघि सहकारी विभागको रजिष्टार रहँदा बदनामी कमाएका पात्र हुन् । साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोही मातहतको राजश्व अनुसन्धान विभागको नेतृत्वको जिम्मेवारी पाएका त्यहाँका हाकिम झलकराम अधिकारीलाई साढे चार महिनामै सिंहदरबारमा तानेर त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मदन दाहाललाई खटाइएको थियो ।

दाहाल त्यहाँ पुग्दा एक बैंकले गरेको झण्डै ९ अर्ब राजश्व छलीको फाइल खोतलिरहेका थिए । यो प्रकरणमा सो बैंकका अध्यक्ष, सिइओसहित १४ जना उच्चपदस्थसँग बयान लिइसकेको थियो । हठात् उनलाई त्यहाँबाट श्रमतिर सरुवा गराइएको छ । उनी पनि तीन महिनामै त्यहाँबाट सरुवामा परेका छन् । हालै मात्र त्यहाँ अब्बल प्रशासकको छवि बनाएका नारायण सापकोटालाई लगिएको छ । सापकोटालाई झलकरामको पालामा व्यापक रूपमा भइरहेको राजश्व चुहावटलाई नियन्त्रण गर्ने र विभागलाई सुशासनमा ल्याउने चुनौती छ । यसका अलावा मदन दाहालको पालामा खोतलिएको एउटा निजी बैंकको राजश्व चुहावट छलीसम्बन्धी प्रकरण कसरी निश्कर्षमा पु¥याउँछन्, चासोसाथ हेरिएको छ । 

भन्सारतर्फबाट मात्र ८० अर्बको राजश्व चुहावट भइरहेको आँकडा अर्थ मन्त्रालयको आन्तरिक बैठकमा बाहिरिएपछि र उसैगरी आयकर, अन्तशुल्क करमा तर मार्ने र भ्याट नतिर्ने प्रवृत्तिलाई निरुत्साहित पार्ने गरी सापकोटालाई मैदानमा उतारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । भन्सारको महानिर्देशक हुनुअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको प्रमुख हुँदा मधेश प्रदेशको कार्यालयमा हुने बदमासीलाई तह लगाउन राम्रै लिडिङ गरेका थिए सापकोटाले । भन्सार विभागको डिजी हुँदा सुधारको प्रयत्न गरेका धेरै बेथितिलाई अन्त्य गर्न चाहेका तथा अघिल्लो आर्थिक वर्षको यही अवधिमा १३३ प्रतिशत राजश्व असुली बढाएर देखाएको र कार्यसम्पादनलाई मूल्यांकन गर्दै यो जिम्मेवारी तोकिएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सारको हाकिम हुँदा पनि अर्थ मन्त्रालयको नजरमा उत्कृष्ट कार्यालय प्रमुखका रूपमा उनलाई चिनिएको थियो । 

यसरी सापकोटा पुल्चोकस्थित राजश्व अनुसन्धान विभागको कमाण्डर बनेर गएसँगै उनीबाट सिंहदरबारले धेरै आश गरेको छ । यता, त्यहाँ बसेर राजश्व मार्न पल्किएका भन्सार र करका कर्मचारी त्राहिमाम भएका छन् । सात वर्षदेखि सोही अड्डामा बसेर तर मारिरहेका कम्प्युटर अधिकृत डिलाराम खनाल दाङ जिल्लाबासीको साइनो लगाउँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माको सचिवालयमा भित्रिन जोडबल गरिरहेका छन् । राजश्वमै बसेर तर मार्न पल्किएका अर्का कर्मचारी पवन बस्नेतलगायत समेत त्यहाँबाट भाग्ने सुर कस्दै छन् । 

 

टिप्पणीहरू