प्रतिष्ठानमा बौद्धिक चोरलाई निषेध गरौँ
नेपाल प्रज्ञा प्रतिष्ठानलगायतमा भएको सरकारी नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिथोल्न केही मान्छे सक्रियजस्तै देखिन्छन् । सामान्य फेसबुके र युट्युबे नभएर उनीहरूमध्ये केही हाइप्रोफाइल भएका विद्वान् र कथित प्राज्ञहरू पनि देखिन्छन् । यसले हामीले कस्ता–कस्तालाई प्राज्ञ बनाएका रहेछौं र हामी किन उन्नतिको बदला अवनतितर्फ गइरहेछौँ भन्ने सहज आकलन गर्न सकिन्छ । आपूmबाहेक अरु सबै बेठीक भन्ने मनोदशाबाट कसरी गुज्रिरहेका छौँ भन्ने पनि यसले स्पष्ट गरेको छ । कामका दोष वा गुणका आधारमा कसैको पनि मूल्यांकन हुनुपर्छ ।
अहिले नियुक्त भएका प्राज्ञहरूको क्षमता र योग्यता नैै नभएको हो भने त्यसबारे स्वाभाविक रूपमा टिप्पणी गर्न उचित हुन्छ र त्यो आवश्यक पनि छ । तर, प्राज्ञहरूले आफू प्रज्ञालगायत प्रतिष्ठानमा प्राज्ञ नहुँदाको बखत जुन ढंगको विरोधको श्रृंखला शुरु गरेका छन् त्यो निन्दायोग्य देखिन्छ, त्यो जातीय र सामाजिक सद्भाव भाँड्ने देखिन्छ । सामाजिक र जातीय सद्भावलाई भड्काएर द्वन्द्व निम्त्याउने यस्ता अभिव्यक्ति वा लेखनी त कुनै पनि हालतमा प्राज्ञहरूले गर्नै सक्दैनन् । बरु विरोध नै जनाउने हो भने सानदार ढंगले योग्यता र क्षमताको चर्चा गर्दै प्राज्ञको मानकबारे थप विचारविमर्श अघि बढाउनुपर्ने हो ।
फेसबुकलगायत सामाजिक सञ्जालमा रोइलो गर्नुभन्दा प्राज्ञ बन्नेहरूको पृष्ठभूमिमाथि चर्चा–परिचर्चा गर्दै गल्ती भएको अवस्थामा सच्याउन दबाब दिने वातावरण तयार गर्नु हो । तर, यहाँ त सूचना लुकाउँदै जातिवादको ट्याग झुन्डाएर जातीय सद्भाव बिथोल्ने प्रयास भएको देखिन्छ । किनभने अहिले तीनै प्रतिष्ठानको प्राज्ञ सभामा कुनै खास एक जातिभित्र पर्ने विद्वान् मात्र नियुक्ति भएका छैनन् । तर, सामाजिक सञ्जाल हेर्दा कुनै अमूक जातका मान्छे प्राज्ञ हुन नसक्ने अवस्था सिर्जना गर्न खोजिएजस्तो देखिन्छ ।
संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका लागि यो कुरा राम्रो होइन, जहानियाँ, निरंकुश र एकतन्त्री शासनको मानसिकता भएकाले मात्र यस्ता कुरा गर्छन् । र, नेपाली समाजलाई विभाजन गर्दै शासनको कल्पना गर्छन् जुन कुरा उहिलेका कुरा खुइले जस्तै भइसकेको छ । नागरिक त्यति मूर्ख छैनन् जति ‘बौद्धिक चोर वा भतुवा विद्वान्’ सोच्छन् । र, गज्जबको कुरा त प्राज्ञ हुन प्रतिष्ठानमै मनोनीत हुनुपर्छ भन्ने मानसिकता बोकेर कसरी प्राज्ञ हुन सकिन्छ ? प्राज्ञको मानक त्यस्तो होइन, प्राज्ञका मानकले त्यस्तो अपेक्षा कहिल्यै गर्दैनन् । र, सबै राज्यसत्ता सञ्चालन गर्ने प्राज्ञहरूप्रति उदार पनि हुँदैनन् । उनीहरू प्राज्ञको क्षमता र योग्यताभन्दा अर्थोकलाई नै बढी मन पराउने पनि हुन्छन् । तसर्थ प्राज्ञ हुन नपाएको झोंकमा जातीय सद्भाव बिथोल्ने छुट कसैलाई छैन ।
विद्वान् त सरकारले प्राज्ञ बनाए पनि नबनाए पनि पुजिन्छन् नै किनभने परापूर्वकालदेखि नै विद्वताको कदर हुँदै आएको छ । तर, सामाजिक सञ्जालमा रोइकराइ गर्ने केही प्राज्ञ भने प्रज्ञान नभएका प्राज्ञजस्ता देखिन्छन् । क्षमता र योग्यता सबै कुराले प्राज्ञ हुनेहरू पनि सरकारी प्रतिष्ठानमा प्राज्ञ नहुनेहरू छन् । तिनीहरूले कहिले चित्त दुखाएनन्, गुनासो पनि गरेनन् । उनीहरूलाई थाह छ, गहुँमा घुन मिसिएर आउने ठाउँ पनि हो त्यो । किनभने पटक–पटक एकादुई बौद्धिक चोरहरू हावी हुने ठाउँ त्यो हो । हो, यसपालि पनि यस्तै चोरले ठाउँ पाएका छन् भने तिनको नामै काढेर विरोध गरौँ ।
तर, जात वा सम्प्रदायको नाममा प्रतिष्ठानमा नियुक्त सरकारी मान्यताप्राप्त प्राज्ञहरूलाई अन्धाधुन्ध विरोध नगरौँ । यसअघि सरकारी प्राज्ञ भएकामध्ये कतिले कुन योगदान दिए ? अहिलेकाले के दिन सक्छन् ? उनीहरूको क्षमता र योग्यताबारे चर्चा गरौँ ताकि आगामी दिनमा बौद्धिक चोरहरू हावी हुन नपाउने अवस्था कायम गरौँ । बौद्धिक चोरहरूको पेट पाल्ने थलोको रूपमा प्रतिष्ठानलाई रूपान्तरण नगरियोस् भन्ने कुरामा सचेत बनौँ ।
टिप्पणीहरू