एउटै सूचनाले भत्काएको एकता
माधव नेपाल तब झस्किनुभयो, जब संघीय संसदमा पाँच र प्रदेशमा ११ जनाको हिसाब सुनाइयो ! राष्ट्रपतिको उम्मेदवारका रूपमा माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त उम्मेदवारका रूपमा प्रस्तावित हुनुअघि एमालेले पनि उहाँलाई राष्ट्रपति मान्न तयार भएको भन्दै आएको थियो । ‘हुने नै हो भने किन पछि पर्ने’ भनेर तीन दलको बैठकबाट माधवको नाम सर्वसम्मत गरियो । त्यो निर्णय हुँदासम्म कांग्रेससँग मिलेर जाने भन्ने कुरा थिएन ।
एमालेकै समर्थनमा राष्ट्रपति हुने भन्नेतिर घटनाक्रम अगाडि बढिरहेको थियो । एकथरी एमालेहरू प्रचण्ड र माधवलाई पालैपालो फोन गरेर उम्मेदवारी नछाड्न उकासिरहेका थिए । तर, कुरा गर्दागर्दै माधवको कानमा एउटा यस्तो सूचना पुग्यो कि, उहाँ झस्किनु मात्रै भएन, त्यही सूचनाका कारण सत्ता गठबन्धन नै तल–माथि हुने गरी घटनाक्रम अगाडि बढ्यो । एमालेकै विश्वासिलो स्रोतबाट माधवको नाममा १६ जना सांसदको नाम सुनाइयो । त्यसमध्ये संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) का पाँच जना थिए । ती थिए, गोकुल बाँस्कोटा, सूर्य थापासहितका ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, गण्डकी प्रदेशका खगराज अधिकारी र सुदूरपश्चिममा एक महिनामै मुख्यमन्त्री गुमाउने राजेन्द्रसिंह रावलहरूले अरु ११ जना प्रदेश सांसद तयार पारेका थिए, जसले माधवलाई कुनै हालतमा भोट हाल्दैन थिए । अचम्म कहाँ भयो भने, ती सबै एमाले अध्यक्ष केपी ओलीका खास–खास मान्छे ।
ओलीकै अर्का भरपर्दो नेताले ११ जनाको नाम उम्मेदवारी प्रस्ताव गर्दैमा सुनाउँछन् भने भोट हाल्ने दिनसम्म त्यसमा केही न केही संख्या पक्कै थपिन्छ र ओलीबाट विश्वासघात हुन्छ भन्ने कुरामा माधव पक्कापक्की हुनुभयो । र, तुरुन्तै निर्णय लिनुभयो, कांग्रेससँग मिलेर जाने । यही सूचनाले हो, रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्नुभएको, ओली–प्रचण्डको सहकार्य टुटाएको पनि ।
टिप्पणीहरू