अंक ३२ कति स्थिर कति अस्थिर ?
– दीपक खनाल
अंक ३२ सधैँका लागि शुभ हो कि अशुभ हो यो त नेपाली राजनीतिका राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीलाई नै थाहा होला तर यही अंक ३२ ले अहिले ८९, ७८, २०, १० आदि अंकलाई घुमाइरहेको छ । चर्चा–परिचर्चा अंक ३२ कै छ । खेल (राजनीति) र खेल मैदान (व्यवस्था) जस्तोसुकै होस्, नेपालको राजनीतिक बजार हिजो २२०, ८०, ५३ हुँदै हाल ३२ मा झरेको अंकले नै तताइरहेको छ । कसैले अंक ३२ को मूल नेतृत्वको अस्थिर स्वभाव भनेर आलोचना या क्रमशः अंक घट्दै आउँदासमेत पक्षधरहरूले नेतृत्वको गतिशीलता भनेर ओठ ढाके पनि राजनीतिक रंगमञ्चको अगाडि अंक ३२ नै उभिएको देखिन्छ । आजका दिनसम्म अरू रमिते र दर्शक मात्र देखिन्छन् । डेढ महिना नपुग्दै बिग्रेको ३२ र ७८ को सम्बन्धले राजनीतिलाई फेरि रोमाञ्चक बनाएको छ । ३२ र ८९ हरूबीच पुनः सम्बन्ध स्थापित भएपछि ७८ ४२ दिनमै ३२ सँग सम्बन्धबिच्छेद गरेर सरकारबाट बाहिरिएको छ र ३२ को नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । ३२ उर्फ माओवादीले पुरानो गठबन्धनका अन्य सात दलसँग मिलेर राष्ट्रपतिमा ८९ उर्फ नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि ३२ र ७८ बीच डिभोर्स भएको हो । एमालेसँगको डिभोर्ससँगै फेरि कांग्रेस, नेकपा समाजवादी, जनमोर्चा नेपाल, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीलगायत दलबीच सहकार्य हुन पुगेको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सँगै लडेको पुरानो गठबन्धनको प्रमुख दल कांग्रेसले निर्वाचन परिणामपछि प्रधानमन्त्री नदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अल्पकालीन सहकार्य हुन पुगेको थियो । चुनावमा एउटै घोषणापत्र बोकेर सँगै गएको दल कांग्रेसले तत्काल माओवादीलाई प्रधानमन्त्री, राष्ट्रपति नदिने भनेपछि त्यो गठबन्धन भत्काउन दाउ लगाएर बसिरहेको एमाले र माओवादीबीच जबर्जस्ती अधुरो सम्बन्ध गाँसिन पुगेको थियो । राजनीतिक जोखना हेरेर बसिरहनुभएका एमाले अध्यक्ष केपी ओलीले नेकपा विभाजनसँगै पोखिएका वा गुमेका आफ्ना उपलब्धि टिप्न यस्तो च्याँखे थापिरहनुभएको थियो । त्यही च्याँखेको खालमा बालकोट छिरेर प्रचण्डले प्रधानमन्त्री पद हत्याउनुभएको थियो । प्रचण्ड एकाएक बालुवाटारबाट बालकोट पुग्दा पुरानो गठबन्धनका एस, जनमोर्चालगायतले मन त पराएका थिएनन् तर त्यो चलख्याइँ गरेर तत्काल खडखडेमा ओलीलाई नछक्याएको भए प्रचण्ड सायदै प्रधानमन्त्री बन्न सक्नुहुने थियो । एमालेले पनि तत्कालकै लागि भए पनि केही महत्वपूर्ण मन्त्री, मुख्यमन्त्री र सरकारभन्दा स्थायी पद सभामुख पाउने थिएन ।
पछिल्लो निर्वाचनको जनादेश एकल रूपमा सरकार सञ्चालन गर्ने खालको थिएन । नागरिकले कुनै दललाई बहुमत दिएनन् । बरु केही नयाँ राजनीतिक समूहलाई स्थापित गरिदिए । नयाँ पुराना कसैको बहुमत नभएकाले दलहरू मिलेर जानुको विकल्प थिएन र अझै अर्काे निर्वाचन नआउन्जेलसम्म यो अवस्था रहिरहनेछ । यसरी मिल्दा पनि चुनावमा सँगसँगै मिलेका कांग्रेस, माओवादी, एसहरू मिल्नु नै जनादेशप्रतिको सम्मान र राजनीतिक इमान्दारी हुन्थ्यो तर कांग्रेसको ठूलो दल बनेपछिको अहमताका कारण त्यो सम्भव भएन । यद्यपि, ढिलै भए पनि कांग्रेसले त्यो महसुस गरेर पुनः आफ्नो गठबन्धन कायम राख्यो । यस आधारमा ३२ अंक बोकेका प्रचण्डले राष्ट्रिय सहमति गरेर जानुपर्छ भन्नुलाई अन्यथा नमान्दा हुन्छ । जनादेश यही भएको हुँदा एमालेले सरकारमा बस्न नपाउनुको चिन्ता लिनुभन्दा बलियो प्रतिपक्ष भएर बस्नु नै राम्रो हुन्छ तर उसले राजावादी पुनरुत्थान शक्तिप्रतिको मोह भने त्याग्नुपर्छ । त्यसलाई कायम राखेमा उसको जनमत झन् घट्छ । ऊ राजतन्त्रवादी र धर्म पक्षधर शक्तिको रूपमा दर्ज हुँदै जान्छ । कालान्तरमा ऊ संघीयता र धर्मनिरपेक्षताविरुद्ध उभिएर राजावादी समूहको पक्षमा खडा भयो भने त्यसबाट देशले झन् ठूलो क्षति व्यहोर्नुपर्नेछ किनकि थिग्रिएको धार्मिक मुद्दालाई फेरि उचाल्दा मुलुक फेरि द्वन्द्वमा फस्न सक्छ ।
माओवादीले स्थापनाकालदेखि नै पटक–पटक नाम परिवर्तन गर्दै आएको स्थितिलाई हेर्दा एउटा कोणबाट अस्थिर विचारको नै भन्न सकिन्छ । तर, यसलाई अर्काे कोणबाट हेर्दा आफूलाई समयानुकूल उभ्याउन सक्ने गतिशील कार्यनीति बोक्ने पार्टी भनेर पनि हेर्न सकिन्छ । माओवादीले जनयुद्धकालदेखि नै उठाउँदै आएको र वर्तमान संविधानमा लिपिबद्ध भएको एजेण्डा हेर्दा उसलाई अस्थिर भन्न भने मिल्दैन । किनकि ऊ कार्यनीतिमा दायाँ–बायाँ गर्ने गरेकाले अस्थिरजस्तो देखिए पनि रणनीतिमा स्थिर छ । सम्झौताको राजनीतिमा आएपछि उसले युद्धकालमा चाहेजस्तो हुने कुरै भएन र उसका शुभेच्छुकहरूले युद्धकै जस्तो १८० डिग्रीको बाटोमा हिँड्नुपर्छ भने पनि त्यो बुझाइ गलत हो । त्यसोभए कांग्रेसले हिजो माओवादीलाई प्रमुख पद नदिने भन्यो आज पुनः राष्ट्र्पति पाएपछि प्रधानमन्त्रीमा सघाउन तयार भयो उसलाई अस्थिर भन्ने कि स्थिर त ? एमाले हिजो माओवादीसँग टाढियो ।
निर्वाचन परिणामपछि मिल्नुपर्ने रहेछ भन्ने महसुस गरेर सरकार बनाउन सहमत भयो, उसलाई स्थिर भन्ने कि अस्थिर ! एसका अध्यक्ष माधवकुमार नेपालसँग हात मिलाउनसमेत तयार नहुने र मुख कुल्ला गर्नुपर्छ भन्ने एमाले अध्यक्ष ओली अहिले राष्ट्रपतिको निर्वाचनमा सघाउन माधवकुमारलाई पत्र पठाउन तयार हुनुभयो । उहाँलाई स्थिर भन्ने कि अस्थिर त ? त्यसैले यहाँ कोही अस्थिर स्थिर भन्ने नै होइन । अवसरवादी, धोकेबाज भन्ने हुँदै होइन । यो सबै परिस्थिति र राजनीतिक व्यवस्थाको उपज हो । खेल मैदान वा राजनीतिक व्यवस्था (प्रणाली) नै अंकगणितीय भएपछि र यही अंकगणितमा परचक्रीहरूसमेत खेल्न आएपछि हुने यस्तै नै हो । संसदीय व्यवस्थाको अवगुण नै हो यो । जो भए पनि खेल्ने यसरी नै हो । खेल मैदानमा पनि त हार्ने हार्नेबीच जित्ने जित्नेबीच। शुरु, सेमीफाइनल, फाइनल प्रतिस्पर्धा हुन्छ नि त । खेल खेल्दा दायाँबायाँ साइड परिवर्तन गरिन्छ नि त । एउटै रह वा पोखरीमा पौडी खेल्दा कहिले वल्लो कुनो कहिले पल्लो कुनो पुगिन्छ नि ! त्यसैले यो आआफ्नो दृष्टिकोणको कुरा हो, जस्तो कि उही सडक पनि माथिबाट हेर्दा ओरालो र तलबाट हेर्दा उकालो देखिन्छ । यद्यपि, हिजो भर्खर त्यत्रो तिक्तता भएर लडेको एमालेसँग यति छिट्टै जोडिएर फेरि पुरानै गठबन्धनमा फर्कंदा भने रूप पक्षबाट हेर्दा माओवादी नेतृत्व अस्थिरजस्तै देखिन्छ । प्रधानमन्त्रीमा जान मरिहत्ते नगरेर बरु प्रतिपक्षमै बस्न तयार भएको भए हुन्थ्यो भन्नु ठीकै हो तैपनि यस्तै व्यवस्थामा छिरेपछि माथि भनिएझैँ यो व्यवस्थाकै बाइ प्रोडक्ट हो । सरकारबाहेक सबै भ्रम हो । तेस्रो शक्ति झन् हुने यस्तै हो । विगतका संसदीय अभ्यासमा पनि यस्तो दृष्टान्त देखिएकै हो ।
टिप्पणीहरू