काँग्रेसले एकलौटी गरेको भन्दै विश्वासको मत नदिने अडानमा माओवादी र नागरिक उन्मुक्ति

काँग्रेसले एकलौटी गरेको भन्दै विश्वासको मत नदिने अडानमा माओवादी र नागरिक उन्मुक्ति

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन प्रदेश्सभाका दुई ठूला दलले सर्त राखेपछि पुनः अन्यौल सिर्जना भएको छ । 

नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । जसका कारण भोली लिन खोजिएको विश्वासको मतसम्बन्धी प्रस्ताव पास नहुने स्थिति बनेको हो ।

माओवादीले यथास्थितिमा विश्वासको मत दिन नसक्ने भन्दै केन्द्रिय कार्यालयलाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलिय सहमतिको लिखित हस्ताक्षर चाहिने शर्त राखेकी छन् । दुबै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै यस्तो अडान लिएका हुन् ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेर कांग्रेसको नेतृत्वमा सरकार गठन भएको थियो । रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता शाह मुख्यमन्त्री बनेका थिए । 

यसरी गठित सरकारका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । केन्द्रमा माओवादीसहित आठ दलीय गठबन्धन बनेपछि सुदुरपश्चिममा विश्वासको मत पाउनेमा काँग्रेस नेताहरु ढुक्क थिए ।  तर, शनिवार दुबै दलले शर्त तेर्स्याएपछि मुख्यमन्त्री शाह अन्यौलमा परेका छन् ।
 

टिप्पणीहरू